खुर्कोटको पुल जोडेर काठमाण्डौ फर्किए कान्छाराम

रामेछाप । पुल बगाएको स्थानमा बेलिब्रीज निर्माण सकेर नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) आईतबार काठमाण्डौं फर्किएका छन् ।

असोजको १२ गते आएको बाढीले सुनकोशी नदीमा रहेको खुर्कोट स्थित मोटरेबल पुलको २ स्पान मध्ये रामेछाप तर्फको १ स्पान बगाएको थियो । पुल बगेपछि रामेछाप जिल्ला राजधानी र तराई संगको सम्पर्कबाट विच्छेद वनेको थियो । खुर्कोट पुल बगेपछि बैकल्पिक सडकको रुपमा सित्खाको पुल भएर काठमाण्डौं र तराई जान बाध्य रामेछापेलीले मंगलबार देखि खुर्कोटको पुलबाटनै सहज यात्रा गर्न पाउने भएका छन् ।

जिल्लाको लाईभलाईनको रुपमा रहेको उक्त पुल बगे देखिनै नेपाल सरकारबाट उक्त स्थानमा बेलिब्रीज राख्ने र सो बेलिब्रीजको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय गराउन देखि आफै खटेर सामाग्रीको व्यवस्थापन गरी खुर्कोट आएका राज्य मन्त्री तामाङ आईतबार पुल निर्माण पुरा भएपछि मात्र काठमाण्डौं फर्केका हुन् । उनले खुर्कोटको बेलिब्रीज तयार नभए सम्म काठमाण्डौं नफर्कने वताएका थिए ।

खुर्कोटमा रहेको सुनकोशी नदीको पुल राख्ने रामेछाप तर्फको जग आसपासको ग्याबियन लगाएतको निर्माण कार्यमा राज्य मन्त्री आफैले श्रम गरेका थिए । श्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र अन्य जनप्रतिनिधि समेत सम्लग्न थिए । पुल निर्माणका लागि कुनै पनि कुराको कमी हुन नदिन राज्यमन्त्री तामाङले नेपाली सेना र स्थानीय सरकार संग आवश्यक समन्वय गरेका थिए । दशैंको टीका लगाएपछि दोश्रो दिन उनी खुर्कोटको पुल निर्माणलाई तिव्रता दिन निर्माण स्थलमा पुगेका थिए ।

झण्डै ५३ मिटर लामो उक्त पुल नेपाली सेनाका प्रमुख सेनानी नारायण तुम्बाहम्फेको नेतृत्वमा रहेको प्राविधिकको टोलिले जडान गरेको हो । पुल जडान कार्य आईतबार सकिएको भएपनि मंगलबारबाट मात्र यातायात संचालन गर्ने तयारी भएको छ ।

यसैविच मन्थली नगरपालिकाले मंगलबार मध्यान्ह सुनकोशीको खुर्कोट पुलमा निर्माण कार्यमा सम्लग्न सवै पक्षलाई धन्यवाद दिने कार्यक्रम राखेको नगर प्रमुख श्रेष्ठले जनाएका छन् ।

Scroll to Top