सुनापति गाउँपालिकाले बाढी प्रभावित परिवारलाई नगद र जस्तापाता दिने

रामेछाप । असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण घरवार बिहिन भएका नागरिकहरुलाई सुनापति गाउँपालिकाले घर निमार्णको लागि जस्तापात र चौपाया मरेका किसानको हकमा नगदै रकम दिने निर्णय गरेको छ ।

पालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ्गको अध्यक्षतामा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले अविरल वर्षाको कारण घर भत्किएर बसोबास गर्न नमिलेका, पशु चौपाया, खेतबारीसहित अन्नबालीको क्षति बेहोरेका पीडितहरूलाई नगद र जस्तापाता सहयोग गर्ने निर्णय गरेको सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता बिष्ट (चौलागाई) ले जानकारी दिइन ।

उनले भनिन– सुनापति गाउँपालिकामा वर्षाका कारण घरवार विहिन बन्न पुगेका नागरिकहरुको वडा कार्यालयमा मार्फत तथ्याङ्क संकलन गरि पालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७८ अनुसार राहत प्रदान गर्ने निर्णय गरेका छौं । तत्कालको लागि अस्थायी आवास निमार्णको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेस गर्ने र तत्कालै गाउँपालिकाबाट घर पूर्ण क्षति भएर बसोबास गर्न समस्या भएका परिवारलाई तत्काल ३ बन्डल जस्तापाता दिने निर्णय गरिएको उपाध्यक्ष बिष्टले बताइन ।

बैठकले हाल वैकल्पिक व्यवस्था गरी बसोवास गर्दै आएका प्रभावितलाई २ बन्डल जस्तापाता दिने निर्णय गरेको छ । त्यसैगरी पहिरोमा पुरिएर मरेका चौपायालाई समेत राहात रकम दिने निर्णय गरेको हो । पहिरोमा परी परेका किसानको एक भैँसी बराबरा २० हजार नगद, गोरु र गाई मरेकामा प्रति गोटा १२ हजारका दरले, प्रति बाख्रा ८ हजार, बाख्राको पाठा पाठी मरेकाको हकमा २ हजारका दरले नगद रकम प्रदान गर्ने निर्णय गरेको छ ।

पालिकामा बसेको बैठकले उक्त निर्णय गरे पश्चात अहिले पालिकाका ५ वटै वडामा विवरण संकलन गर्न कर्मचारीहरु परिचालन गरिएको र विवरण प्राप्त हुनासाथ निर्णय भए अनुसारका राहात वितरण गर्ने सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले जानकारी दिए ।

Scroll to Top