रामेछाप । विगतका वर्षहरु भन्दा यसवर्ष रामेछापमा जुनार उत्पादनमा बृद्धि भएकाले जुनार विक्रीवाट २२ करोड ६८ हजार रुपैयाँ आम्दानी हुने अनुमान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले गरेको छ ।
यसवर्ष समयसयममा पानी परेको र जुनारबो वोटमा समेत किरान नलागेका कारण गएको वर्ष भन्दा जुनार उत्पादनमा बृद्धि भएको हो । यसवर्ष ४ हजार ५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार उत्पादन भएको थियो । रामेछापमा हाल ५ सय ४० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका सूचना अधिकारी विनिसा श्रेष्ठले जानकारी दिइन ।
उनले भनिन्– यसवर्ष रामेछापमा ५ सय ४० हेक्टर मध्ये ६० प्रतिशत फल दिने विरुवा रहेका छन । किसानले प्रति किलो ५० रुपैयाँका दरले वगैचाबाट नै विक्रि गर्दा पनि २२ करोड ६८ हजार रुपैयाँ बराबरको जुनार विक्रीवाट रकम जम्मा हुन्छ । गत वर्षको भन्दा जुनार उत्पादनमा धेरै राम्रो भएकाले किसानले यस वर्ष अमिलो जातका जुनारसँगै सुन्तला, कागती र भोगटे उत्पादनमा पनि बृद्धि भएको सूचना अधिकारी श्रेष्ठले बताइन ।
रामेछापमा हाल कृषि कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केही वर्षदेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गर्दै आएको छ । ती कार्यालयहरुले किसानहरू ले लगाएको अमिलो जातका फलफूल खेतीका लागि आवश्यक पर्ने निःशुल्क प्राविधिक सहयोग, सिँचाई, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखी ७५ प्रतिसत सम्म सहयोग गर्दै आएको छ ।
जिल्लाको रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामेछाप, रामपुर,हिमगंगा र देउरालीमा किसानहरुले व्यवसायीक रुपमा जुनार खेती गर्दै आएका छन् । त्यसैगरी मन्थली नगरपालिकाको सालु, सुनारपानी, देउराली, भलुवाजोर, पुरानागाउँ र फुलासी र दोरम्वा शैलुङ्ग गाउँपालिकाको डडुवामा समेत किसानहरुले व्यावसायिक रूपमा जुनार खेती गर्दै आएको दोरम्वा शैलुङ्ग गाउँपालिका–१ डडुवाका किसान तारा बहादुर मोक्तानले जानकारी दिए ।