रामेछाप । राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेकाहरु मध्ये ३५ हजार नागरिकहरुको परिचय पत्र बनेर जिल्ला प्रशासन कार्याल रामेछापमा आएको लामो समय भइसक्दा जम्मा ५ हजार नागरिकले मात्रै परिचय पत्र बुझेका छन् भने ३० हजार परिचय पत्र अझै कार्यालयमा थन्किएका छन् ।
प्रसाशन कार्यालयले २०७७ साउन १ गतेदेखी कार्यालयबाट र २०७९ सालदेखि स्थानिय तहमा कर्मचारी सहितको घुम्ती टोली मार्फत नागरिकहरुको बायोमेट्रिक विवरण सहित राष्ट्रिय परिचय पत्रको लागि विवरण भरेको थियो । जसमा कार्यालय र स्थानिय तहमा गरी कुल १ लाख ५ सय ९६ जनाले परिचयपत्रको लागि विवरण भरेका थिए ।
परिचय पत्रको लागि विवरण भरेका १ लाख ५ सय ९६ जना मध्ये हालसम्म ३५ हजार नागरिकको परिचय पत्र बनेर जिल्लामा आएको छ । जिल्लामा आएका परिचय पत्र मध्ये मंसिरको पहिलो हप्तासम्म जम्मा ५ हजार जनाले मात्रै परिचय पत्र बुझेर लगेका छन् । कार्यालयले परिचय पत्र बनेर आएका नागरिकहरुको हकमा उनीहरुको मोबाइलमा म्यासेज सन्देश पठाउने गरेको छ । यसरी कार्यालयले सन्देश पठाउँदा पनि नागरिकहरु परिचय पत्र बुझ्न गएका छैनन् । बनेका परिचय पत्र लिन नागरिक नजाँदा ३० हजार परिचय पत्र कार्यालयमा नै थन्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयले २०७९ मंसिर १२ गतेदेखि चैत ३ गतेसम्म रामेछापका ८ वटै स्थानिय तहका र तिनका वडा तहमा समेत घुम्ती शिविरको आयोजना गरी ७० हजार ९४० जना नागरिकको परिचय पत्रको लागि विवरण संकलन गरेको थियो । प्रशासन कार्यालयको रेकर्ड अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १८ हजार ३९१ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा ११ हजार २६५ जनाले मात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर कुमारदास श्रेष्ठले जानकारी दिए । उनले भने– कार्यालयले नागरिकहरुलाई सूचना पठाउँदा पनि परिचय पत्र लिन आउनेको संख्या न्यून रहेको छ । अहिले परिचय पत्रको लागि कार्यायमा आएर विवरण भर्नेको संख्या भने अधिक रहेको छ ।
सरकारले राहादानी बाहेक अन्य प्रयोजनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्दा परिचय पत्र प्रती नागरिकको चासो कम भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए । उनले भने– सरकारले जसरी राहादानी बनाउँदा परिचयत्र पत्र अनिवार्य गर्यो त्यसैगरी अन्य सेवा सुविधा लिन पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको भए रामेछापमा बनेर आएका सबै परिचय पत्र नागरिकले लगिसक्थे । अहिले परिचय पत्र अनिवार्य नहुँदा नागरिकहरुले परिचय पत्र लिन चासो नदेखाएको बताए ।