काठमाण्डौंमा सञ्चार र मिडियासम्वन्धी सम्मेलन हुने

काठमाण्डौं । काठमाण्डौंमा सञ्चार र मिडियासम्वन्धी दुई दिने सम्मेलन २०२४ भोलिवाट हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुन लागेको हो ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागका प्रमुख डा. कुन्दन अर्यालले जानकारी दिए । उनका अनुसार पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको प्रस्तुति रहेको छ भने प्राध्यापक पी खरेलको ‘बहुच्यालन र दर्शकको खण्डीकरण’ विषयमा विशेष प्रस्तुति रहेको जनाइएको छ ।

यस सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरूबीच छुट्टाछुट्टै संवाद गर्ने समेत जनाइएको छ ।

Scroll to Top