
रामेछाप । गएराती तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्न गएका युवक आफैले वोकेको ब्याट्री सर्ट भई करेन्ट लाग्दा घटनास्थलमा नै ज्यान गएको छ ।

ज्यान गुमानेमा मन्थली नगरपालिका–८ चिसापानीको जखनीटारका २१ बर्षिय सुरेश माझी रहेका छन् । उनी गएराती स्थानिय ६ जना साथीहरुसँग मिलेर तामाकोशी नदीमा ब्याट्रीवाट करेन्ट लगाएर माछा मार्न गएका थिए । नदीको भित्र पसेर करेन्ट लगाएर माछा मार्न खोज्दा उनी आफैले बोकेको केरन्ट आफैलाई लागेको थियो ।

घटनापछि स्थानियहरुले प्रहरीमा खबर गरेका थिए । प्रहरीको टोली घटनास्थलमा पुुगी मृतक माझीको शव पोष्र्टमार्टमको लागि मन्थली अस्पतालमा ल्याएको छ । मृतक माझी सँगै माछा मार्न गएका अन्य ५ जनालाई प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।
केही वर्षदेखी रामेछापको लिखुु नदी, तामाकोशी नदी र सुनकोशी नदीमा रातको समयमा अवैद्य रुपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ । नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा आश्रय लिएर बस्ने अन्य जलचर सबै प्रजातीहरु मर्ने भएकाले करेन्ट लगाउनेहरुलाई स्थानिय प्रहरी प्रशासनले कुनै कारवाही नगरको गुनासो स्थानियहरुले गर्दै आएका छन् । करेन्ट लगाएर माछा मार्ने क्रम बढेसँगै नदीमा जाल हानेर माछा भेट्नै मुस्किल पर्ने गरेको छ ।