वनमा आगो लगाउँदै हिड्ने ७२ बर्षिय बृद्ध पक्राउ

रामेछाप । रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानिय ७२ वर्षीय बृद्ध हरिबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले चैत्र ४ गते साँझ सामुदायिक वनमा आगो लगाएका थिए । आगो लगाउँदै गरेको स्थानियहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । सालु चौकीवाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान र कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

तीन दिन अघि मात्रै प्रहरीले दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको छहरेछाप सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाउने एकाघरका दुुई दाजुभाई सोही स्थानका ५० बर्षिय पदमबहादुर विक र उनका भाई वर्ष ४५ का चन्द्रवहादुर विकलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीको लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

पछिल्लो समय रामेछापमा दैनिक जसो सामुदायिक वनमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेहरुको खोजी कार्यमा जुट्दै आएको छ ।

Scroll to Top