आगलागीबाट रामेछापमा दुई घर तीन गोठ जले

रामेछाप–१२ चैत्र ।
रामेछाप । घर नजिकैको जंगलमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे,चुकिया र स्वाङग्रा गाउँमा दुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

मंगलबार दिउँसो बस्ती नजिकै जंगलमा लागेको आगो बढ्दै जाँदा मानव वस्तीमा पसेको थियो । हावा सँगै दनदन सल्किएको आगो एकाएक घरमा लागेपछि स्थानियहरुको भागाभाग भएको थियो । मानवीय क्षती नभएपनि घरमा भएको अन्नपात, लत्ताकपडा र भाडावर्तन सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका–५ रामपुरका वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट गोठमा बाधिराखेका पाँचवटा खसी बाख्रा समेत जलेर नष्ट भएका छन् । उक्त क्षेत्रमा लागेको आगो निभाउन स्थानिय नागरिक, प्रहरी लगाएतको टोली लागि परेको भएता पनि हावाको वेग तिव्र भएकाले आगो नियन्त्रण भन्दा वाहिर रहेको छ । आगलागी भइरहेको स्थान नजिकै रहेको ५ घर रहेका र ती घर समेत जोखिममा रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

चैत्र महिनाको पहिलो साता देखी नै रामेछापका विभिन्न स्थानमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । विभिन्न सामुदायिक वनमा आगोे लगाउँदै गरेको अवस्थामा प्रहरीले दोरम्वा र रामेछापवाट गरी ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाएको छ ।

प्रहरीले विभिन्न स्थानमा आगलागीका घटना हुन सक्ने भन्दै सर्तकता अपनाएता पनि जंगलमा आगो लगाउने काम भने रोकावट हुन सकेको छैन् ।

Scroll to Top