रामेछाप । निमार्ण व्यवसायीले गुणस्तरहिन सामाग्री प्रयोग गरी निमार्ण गर्दा मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर र वडा नम्वर ७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्ण भएको मोटरेबल पुल गाडी नचल्दै भाच्चिएको छ ।


निमार्ण व्यवसायीले पुल निमार्णको क्रममा खिया लागेको डण्डी र सिमेन्ट र वालुवाको रेसियो नमिलाई कमसल मसाला प्रयोग गरी पुल ढलान गरेका थिए । पुल ढलान गरेको केही दिनमा नै उक्त पुल शुक्रवार भाँचिएको हो । सरकारी निकायको आँखा छल्दै कमसल सामाग्री प्रयोग गरेर ढलान गरेको पुलले भार थेग्न नसक्दा सवारीसाधन नै नचल्दै उक्त पुल भाच्चिएको स्थानियहरुले आरोप लगाएका छन् ।

चारवटा स्पान भएको २ सय ३० मिटर लामो र ११ मिटर चौडाई भएको उक्त पुलको ५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै भाचिएको हो । उक्त पुल सङ्घीय सरकारको सडक विभागको पुल महाशाखाले उक्त पुल निर्माण गरेको हो । उक्त पुल निमार्णको टेण्डर कालिका–कल्पवृक्ष जेभिले २०७८ सालमा कुल भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।


निमार्ण व्यवसायीले सम्झौता गरे अनुसार २०८२ साल असार मसान्तसम्म उक्त पुलको काम सकेर सवारीसाधन खुल्ला गर्ने गरी काम अघि वढाएको थियो । पुल निमार्णको जिम्मेवारी पाएको निमार्ण व्यवसायीले पुल निमार्णको क्रममा परीक्षण नै नगरी स्थानिय स्तरमा उपलवव्ध वालुवा, रोडा प्रयोग गरेको थियो । त्यस्तै खिया लागेको डण्डी समेत प्रयोग भएको थियो भने रेसियो अनुसार सिमेन्ट प्रयोग नगर्दा उक्त पुलले भार थेग्न नसकी भाच्चिएको हुनसक्ने स्थानियहरुले बताएका छन् ।

उक्त पुल निमार्णको क्रममा व्यवसायीले कमजोर सामाग्री प्रयोग गरेको गुनासो आएपछि बागमती प्रदेशका सांसद, जिल्ला समन्वय समिति रामेछापका प्रतिनिधि र मन्थली नगरपालिकाका उपप्रमुख सहितको अनुुगमन टोलीले स्थलगत अनुुगमन गरी फर्केको थियो । अनुुगमन गर्न पुुगेका टोलीले पुलको काम गुणस्तर रहेको भन्दै फर्किएका थिए । उनीहरु फर्किएको एक हप्ता नपुुग्दै उक्त पुल भाच्चिएको हो ।

अहिलेसम्म पुल के कती कारणले भाच्चिएको हो भन्ने बिषयमा निमार्ण व्यवसायीले विज्ञ टोली झिकाएर अध्ययन गर्ने जनाएका छन् । पुल भाच्चिएपछि नागरिकहरुले निमार्ण व्यवसायीले गुणस्तरहिन काम गर्दा उक्त भाच्चिन पुुगेको भन्दै सामाजिक सञ्जाल मार्फत चर्को विरोध जनाएका छन् ।

यो पुल सञ्चालनमा आएपछि सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै विपी राजमार्गमा जोडिएर राजधानीसम्म जान छोटो दुरी पर्दछ । यो पुल निमार्ण भएसँगै सदरमुकाम मन्थलीवाट जिल्लाका पश्चिमी क्षेत्रमा रहेका खाँडादेवी, सुनापति र दोरम्वा शैलुुङ्ग गाउँपालिकामा आवतजावत गर्न नागरिकहरुलाई सहज हुने छ ।