
रामेछाप । घरमा जडान भएको विद्युत सर्ट भई आगलागी हुँदा लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा गएराती एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।


आगलागीबाट सैपुका चन्द्रवहादुर पौडेलको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । अकस्मात विद्युत सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा पौडेल घाइते भएका छन् । उनको घटनास्थलवाट उद्धार गरी उपचारको लागि मन्थली अस्पतालमा ल्याई उपचार भइरहेको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।


आगो निभाउने क्रममा पौडेललाई घरमा पालिएको मौरीले समेत चिलेको थियो । उनलाई एकै पटक सयौं मौरीले चिल्दा अनुहार लगाएतका भागमा सुन्नीएको छ । उनको अवस्था खतरा मुक्त रहेको मन्थली अस्पतालका मेसु डा. केशव धामीले जानकारी दिए ।

आगलागीबाट पौडेलको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षती नभएता पनि घरमा रहेका लत्ता कपडा, गरगहना, अन्नपात र भाडावर्तन सबै जलेर नष्ट भएका छन् । केही समयदेखी सैपुमा विद्युत सर्ट भएर आगलागी हुने घटना बढ्दै गएको छ । विद्युत हाइ भोज्टेजमा आउने जाँदा गर्दा आगलागी भएको हुनसक्ने आशंका स्थानियहरुले गर्दै आएका छन्