रामेछापको गेलुमा ससुराले खुकुरी प्रहार गरी बुहारीको गरे विवत्स हत्या

रामेछाप । घरायसी विवाद हुँदा मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा ससुराले आफ्नै बुहारीको खुकुरी हानी विवत्स हत्या गरेका छन् ।

शुक्रवार साँझ ससुरा र बुहारीको भनाभन हुदा ६१ बर्षिय शम्भु बुढाथोकीले अन्दाजी २८ वर्षकी बुहारी पवित्रा बुढाथोकीलाई खुकुरी हानी विवत्स हत्या गरेका हुन् । बुहारीको हत्या पछि बुढाथोकी गाउँवाट भाग्दै लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा रहेको प्रहरी चौकीमा आएर आत्मसर्मपण गरेका छन् ।

सो घटनाको बिषयमा थप अनुसन्धानको लागि सदरमुकाम मन्थलीवाट जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेको कमाण्डमा घटनास्थलतर्फ जादै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृतक पवित्राका श्रीमान् खम्बहादुर बुढाथोकी गत साउन ३ गते काठमाण्डौं भाडामा बस्दै आएको घरमा झुण्डीएर आत्महत्या गरेका थिए । छोराको मृत्यु हुनुमा बुहारीको हात रहेको भन्दै ससुरा बुढाथोकीले बुहारीलाई आरोप लगाउँदै आएका थिए । छोराको मृत्यु पश्चात बुहारीलाई उतै छाडी उनीसँगै रहेका ९ वर्षको नातीलाई बुढाथोकीले रामेछाप ल्याएर आफुसँगै घरमा राखेका थिए ।

लामो समयसम्म ससुराले आफ्नो छोरालाई राखेकाले आफुसँगै छोरा लाने भन्दै काठमाण्डौं बस्दै आएकी बुहारी पवित्रा बुढाथोकी आफ्नो छोरा लिन गेलु पुगेकी थिइन । छोराको मृत्यु हुनुमा बुहारीको हात रहेको भन्दै सोही बिषयमा ससुरा र बुहारी झगडा हुँदा ससुराले अकस्मात खुकुरीले हानेर बुहारीको हत्या गरेको मन्थली नगरपालिका–१२ का वडा सचिव रामहरी अधिकारीले जानकारी दिए ।

Scroll to Top