रामेछाप । रामेछापबाट चालु आर्थिक वर्षको नौ महिनामा ६ हजार ७६ जना युवा युवतीहरु वैदेशिक रोजगारीको लागि विदेशिएका छन् । जिल्लामा बेरोजगारको संख्या बढ्दै जादा बाध्य भएर बिदेशिनेको संख्या बढ्दै गएको हो ।


सो कुरा सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले बिहिवार मन्थली नगरपालिकाको सभाहलमा आयोजना गरेको जिल्ला स्थित संञ्चारकर्मी बिच गरेको अन्र्तक्रिया कार्यक्रमका अवसरमा जानकारी गराएको हो । जिल्लामा रोजगारीको अवसर नभएपछि वर्षेनी वैदेशिक रोजगारीको लागि जाने युवा युवतीको संख्यामा बृद्धि हुँदै आएको छ ।
चालु आर्थिक वर्षका नौ महिनाको अवधिमा रामेछापवाट ४ हजार ७ सय २० जना पुरुष र १ हजार ३ सय ५६ जना महिलाहरुले श्रम स्विकृती लिएर विभिन्न मुलुकमा रोजगारीको लागि गएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक दीपक केसीले जानकारी दिए ।



उनका अनुसार गएको आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार ४ सय ३१ जनाले श्रम स्वीकृती लिएर विभिन्न मुलुकमा काम गर्नको लागि युवा युवती विदेशीएका थिए । गएको वर्षको तुलनामा यस चालु आर्थिक वर्षको नौ महिनामा यती धेरै विदेशिनु चिन्ताको बिषय बन्दै गएको छ । यहीँ तरीकाले युवा युवती वर्षेनी विदेशीने हो भने जिल्लामा युवा युवतीहरु बिहिन नबन्ला भन्न सकिन्न संयोजक केसीले बताए ।
वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जिल्ला प्रशासन कार्यालयमा परामर्श डेक्स स्थापना गरी परामर्श समेत दिदै आएको छ । प्रशासन कार्यालयमा राहादानी वनाउन जाने युवा युवतीलाई परामर्श दिने गरिएको छ । सामिले चालु आर्थिक वर्षको नौ महिनामा ३ हजार ६ सय युवा युवतीलाई वैदेशिक रोजगार सम्वन्धि परामर्श प्रदान गरिएको संयोजक केसीले बताए ।

त्यसैगरी रामेछापबाट विभिन्न देशमा वैदेशिक रोजगारमा गएकाहरु मध्ये ६ वर्षको अवधिमा ३१ जनाको मृत्यु भएको र १५ जना अगंभंग भएका छन् । वैदेशिक रोजगार विभाग र आप्रवासी स्रोत केन्द्रको तथ्याङ्कको रेकर्ड अनुसार यती मात्रै भेटिएता पनि मृत्यु हुने र शारिरीक रुपमा अंगभंग हुनेको संख्या अझै बढ्न सक्ने सामि परियोजनाले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र हेल्भेटास नेपालको तर्फवाट कार्यक्रम अधिकृत उमा पौडेल लगाएतले पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्यामा बृद्धि, चुनौती र समाधानको उपाएका बिषयमा आ–आफ्नो प्रस्तुती समेत गरेका थिए । उक्त कार्यक्रम मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी वस्नेतको अध्यक्षतामा भएको थियो ।