रामेछाप । मन्थली स्थित तामाकोशी अग्रेजी बोडिङ स्कुलका नेपाली शिक्षक प्रेम बसेललाई सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्घात कुटपिट गरेका छन् ।

मंगलवार साँझ विद्यालयको गेटमा दुई विद्यार्थीले नेपाली शिक्षक बसेललाई कुटपिट गरेको घटना गुपचुप राखिएको छ । विद्यालयको पढाई सकेर घर फर्कदै गरेका कक्षा १० र कक्षा ८ मा अध्ययनरत दुई विद्यार्थीहरु एक आपसमा विद्यालयको गेटमा कुटपिट गर्न थालेपछि उनीहरुलाई छुट्टयाउन पुगेका शिक्षक बसेललाई ती दुई विद्यार्थीले निर्घात कुटपिट गरेका हुन् ।

विद्यार्थीको कुटाईबाट घाइते भएका शिक्षक बसेललाई मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौं केएमसी अस्पताल रिफर गरिएको रामेछाप सामुदायिक अस्पतालका निर्देशक डा.केशव धामीले जानकारी दिए । उनले भने– शिक्षक बसेलको नाकमा चोट छ । यहाँ उपचार पछि उहाँहरुले काठमाण्डौं जाने मनसाय गरेकाले रिफर गरिएको बताए ।


विद्यार्थीहरुले शिक्षक कुटपिट गरेको सूचना कार्यालयमा आएता पनि कुटपिटमा संलग्नलाई कार्वाही गरी पाउँ भन्ने कुनै लिखित निवेदन हालसम्म कार्यालयमा नआएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पछिल्लो समय तामाकोशी बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरु अनियन्त्रित हुँदै आएका छन् । विद्यालयका शिक्षक र विद्यालय संञ्चालक समितिले कुनै चासो नदिदा विद्यार्थी नै शिक्षक कुट्दै हिड्न थालेका हुन् ।

विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरु एकआपसमा कुपटि गरीरहेको अवस्थामा छुट्टयाउन जाँदा विद्यार्थीले नेपाली शिक्षक बसेल माथि नै कुटपिट गरेको घटना आफुले पछि मात्रै जानकारी पाएको तामाकोशी अग्रेजी बोडिङ स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए । उनले भने– विद्यार्थीको कुटाई पछि घाइते भएका शिक्षकको उपचारको लागि मन्थली स्थित रामेछाप सामुदायिक अस्पताल लगिएको थियो । शिक्षक बसेलको नाकमा असर परेकाले थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । अहिले उहाँ अस्पतालबाट डिस्चार्ज भइसकेको भन्ने सूचना पाएको छु, तर टेलिफोन सम्र्पक गर्दा उहाँको टेलिफोन उठेको छैन प्रअ खड्काले बताए ।

केही समयअघि देखी नेपाली शिक्षक र ती दुई विद्यार्थी विच खेलकुदको बिषयलाई लिएर विवाद बढेको थियो । सोही बिषयलाई लिएर ती विद्यार्थीले शिक्षक माथि आक्रमण गरेको हुनसक्ने विद्यालय प्रशासनले अनुमान गरेको छ ।