रामेछाप । सदरमुकाम मन्थली स्थित मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले उपभोक्तालाई बितरण गरेको खानेपानी हेर्न काठमाण्डौं नार्गजुनको टोली शुक्रवार मन्थली आइपुगेको छ ।


काठमाण्डौको नार्गजुन नगरपालिका–३ स्थित इचङ्गु नारायण खानेपानी आयोजना मुल उपभोक्ता समितिका अध्यक्ष र जनप्रतिनिधि सहितको एक टोली अध्ययन अवलोलकनको लागि मन्थली आइपुगेको हो । उक्त टोलीलाई मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयमा समितिका अध्यक्ष पूर्णवहादुर सुवेदी, सचिव ढाकल बहादुर थापा र व्यवस्थापक जगदीश सुवेदीले स्वागत गरेका थिए ।

अनुगमनको लागि आएको टोलीलाई मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सुबेदीले हालसम्म समितिले गरेको कामको विवरण र आगामी दिनमा गर्ने भावी योजनाको बिषयमा जानकारी गराएका थिए । सदरमुकाम मन्थलीमा रहेको जिल्लाकै ठूलो सामुदायिक खानेपानी उपभोक्ता समितिले हाल तामाकोशी नदीको पानी विद्युतीय माध्यमवाट लिफ्ट गरी एक हजार उपभोक्ताहरुलाई नियमित पानी वितरण गर्दै आएको छ ।



विद्युतीय माध्यमवाट पानी तान्दा बेलाबेलामा विद्युत जाने र कम भोल्जेटका कारण विद्युतीय उपकरण जलेर नष्ट हुने समस्या रहेको छ । त्यसैगरी तामाकोशी नदी छेउमा निमार्ण गरिएको भूमिगत इनारमा पानी कम हुँदा समस्या भएकाले पुनः नयाँ थप इनार निमार्ण गरी पानी तान्ने व्यवस्थाको लागि समितिले गृह कार्य थालेको छ । यता आम उपभोक्ताहरुले विगतमा १५ हजार लिटर पानी उपभोग गर्दा मासिक ५ सय रुपैयाँ तिर्दै आएकोमा उक्त रकम घटाएर हाल ४ सय रुपैयाँ कायम गर्दा सवै उपभोक्ताहरु खुशि भएको सो छलफल कार्यक्रममा जानकारी गराइएको थियो ।
नार्गजुनबाट विभिन्न जिल्लाका ठूला तथा नमुना खानेपानी उपभोक्ता समितिले के कसरी उपभोक्ताहरुलाई नियमित पानी वितरण गरेको रहेछ, त्यसमा आउने समस्य के के रहेछन् सो अध्ययनको टोली रामेछाप आइपुगेको नार्गजुन नगरपालिका–३ स्थित इचङ्गु नारायण खानेपानी आयोजना मुल उपभोक्ता समितिका अध्यक्ष हरीकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनले भने– हामी अध्ययनमा निस्कनै लाग्दा खानेपानी महासंघको केन्द्रिय कार्यालयमा सम्र्पक गर्यौ । त्यहाँ सम्र्पक गर्दा रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सामुदायिक खानेपानी समितिले नमुना काम गरेको भन्ने सूचना पाएकाले त्यहीँ सूचनाको आधारमा हामीहरु यहाँ हेर्न आएको हौं, वास्तवमै मन्थली सामुदायिक खानेपानी समितिले उपभोक्ताहरुको लागि धेरै राम्रो गरेको देख्यौं । यहाँको व्यवस्थापन धेरै राम्रो रहेछ अध्यक्ष श्रेष्ठले बताए ।
काठमाण्डौंबाट अध्ययनको लागि निस्केको उक्त टोलीले भक्तपुर, काभ्रे, रामेछाप र दोलखाकाका विभिन्न नमुना सामुदायिक खानेपानी उपभोक्ता समितिहरुको अध्ययन गरी काठमाण्डौं फर्कने छ ।