तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने ५ पक्राउ

रामेछाप । तामाकोशी नदीमा मगंलवार राती विद्युतीय करेन्ट लगाएर माछा मार्ने ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

मन्थली नगरपालिका–६ भजुवाजोर स्थित तामाकोशी नदीमा करेन्ट लगाई स्थानिय युवाहरुले गैर कानुनी तरीकाले माछा मार्दै गरेको भन्ने सूचना प्रहरीकोमा गरेपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट खटेको प्रहरीको टोलीले घटनास्थलवाट माछा मार्न प्रयोग गरिएको ब्याट्री, तार, जाल र माछा सहित पाँच जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ का ३९ वर्षीय ललित बहादुर माझी, २० वर्षीय प्रेम माझी, ३६ वर्षीय राजन माझी, २७ वर्षीय भारत बहादुर माझी र ३६ वर्षीय आशिष माझी रहेका छन् । पक्राउ परेका उनीहरुलाई जलचर संरक्षण ऐन अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो । करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको छ । २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गरी जलचर प्राणी मारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा रहेका अन्य सवै जलचर जीवहरु नष्ट हुने गरेका छन् । सरकारले कानुन निमार्ण गरेता पनि वर्षेनी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम वढ्दो छ । केही समय अघि मन्थली नगरपालिका–७ गाईखुरा स्थित तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको करेन्ट लागि ज्यान समेत गएको थियो ।

Scroll to Top