सुनकोशी नदीमा बाढी आउन सक्ने, सर्तक रहन रामेछाप प्रशासनको आग्रह

रामेछाप । छिमेकी राष्ट्र चिनको तिब्बत क्षेत्रमा अत्याधिक मात्रामा वर्षा हुने हुँदा सुनकोशी नदीमा बाढी आई नदी आसपासका बस्ती जोखिममा पर्न सक्ने भएकाले सर्तक र चनाखो रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत प्रकाश प्रधानले बिहिवार एक सूचना जारी गर्दै असार ३ गतेदेखी ७ गतेसम्म चिनको तिव्बत क्षेत्रमा अत्याधिक मात्रामा वर्षा हुने सम्भावना रहेकाले सुनकोशी नदीमा बाढी आई आसपासको वस्ती जोखिममा पर्न सक्ने भन्दै सर्तक रहन आग्रह गरेका हुन् ।

सुनकोशी नदी तटिय क्षेत्रमा पर्ने सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको नदी आसपास बाढीको जोखिम हुनसक्ने भएकाले उक्त क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

रामेछापको सुनकोशी किनारमा च्याँयडटार, सिन्धुरेटार, लुभुघाट, खैरनीघाट, कोथपे, बेलघारी, सित्खा, डब्खा, पुछिघाट, नबुघाट, हर्दिनीघाट र भोटटार लगाएतको क्षेत्रमा बाक्लो बस्ती रहेको छ । ती सवै वस्तीमा गत वर्षको असोज १० देखी १२ गतेसम्म सुनकोशी नदीमा आएको बाढीले समेत धेरै ठूलो क्षती पुर्याएको थियो ।

चिनको प्रहरी कार्यालयले बुधवार नै तिब्बत क्षेत्रमा असार ४ गतेदेखी ७ गतेसम्म अत्याधिक मात्रामा वर्षा हुने भन्दै सार्वजनि सूचना जारी गरेको थियो । तिब्बतले हिजो नै उक्त सूचना जारी गरेसँगै सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली जिल्ला प्रशासन कार्यालयहरुले हिजो नै सुनकोशी नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई सतर्कता अपनाउन अनुरोध गरेका थिए ।

Scroll to Top