रणजोर खोलामा आएको बाढी खेतमा पस्दा खेत बगरमा परिणत

रामेछाप । मन्थली नगरपालिका–१ स्थित रणजोर खोलामा बिहिवार साँझ आएको बाढी खेती योग्य जमिनमा पस्दा छिनभरमा नै एकसय रोपनी भन्दा बढी खेत बगरमा परिणत गरेपछि मन्थलीका किसानहरुमा मारमा परेका छन् ।

रणजोर खोलामा लेदो सहित आएको बाढी मन्थली नगरपालिका–१ चुकाहा स्थित बिर्ताको कुलोवाट पसेर सोही वडाको सुकाजोर खोलामा निस्किएको थियो । रणजोर र सुकाजोर खोला बिचमा रहेको एकसय रोपनी भन्दा बढी खेती योग्य जमिन बाढी पसेर वगरमा परिणत गरिदिएको हो । खेतमा खोला पस्दा किसानले पाक्न लागेको मकै बाली समेत भित्रयाउन पाएनन । खोला पसेको क्षेत्रमा करिव एक हजार रोपनी भन्दा बढी खेतीयोग्य जमिन रहेको छ ।

खोलाले किसानको लाखौं मूल्य बराबरको मकै बाली त नोक्सान गर्यो नै धान रोपाईको लागि राखेको धानको ब्याड समेत सवै बगाएको छ । खेतमा नत मकै छ नत धान रोप्न राखेको धानको ब्याड छ न धान रोप्ने ठाउँ नै बाँकी छ मन्थली नगरपालिका–१ का रामबाबु थापाले दुःखेसो पोखे । उनले भने– खेती योग्य जमिन जोगाउन खोलामा बाँध वाध्न स्थानिय निकायसँग पटपटक हार गुहार गर्यो । कहिले जिल्ला विपद् व्यवस्थापन समिति, कहिले वडा त कहिले मन्थली नगरपालिकासम्म धायौं । हाम्रो कुरा कहीँ सुनुवाई नै भएन ।

समयमा वर्षा नहुँदा किसानहरुले जेनेरेटर मार्फत तामाकोशी नदीको पानी तानेर धानको ब्याँड राखेका थिए । किसानहरुले प्रति घण्टा दुईसय ५० देखी ४ सय रुपैयाँसम्म पैसा तिरेर पानी तानी राखेको ब्याड समेत खोलाले बगाएपछि किसान झनै चिन्तित बनेका हुन् । अहिले न किसानको खेतमा पाक्न लागेको मकै छ नत धानको ब्याड नै ।

यस वर्ष मात्रै बैशाख र असार ५ गते गरी दुुई पटक बाढी खेतमा पसि सक्यो । ठूलो बर्षा हुन वाँकी नै छ । यदी ठूलो वर्षा हुनु अगावै रणजोर खोलाको दुवै छेउमा बाँध नबाँध्ने हो भने यो वर्ष सबै खेत बगर हुने निश्चित रहेको स्थानिय किसान भुपाल थापाले जानकारी दिए । उनले भने– स्थानिय निकायले पनि खोला संरक्षणको लागि ध्यान दिएन । प्रदेश र संघका जनप्रतिनिधिहरुले पनि किसानको मागलाई सुनुवाई गरेनन् । जनप्रतिनिधिहरुले जहाँ कमिशन आउँछ त्यहाँ मात्रै वजेट विनियोजन गर्र्ने गर्दा किसानका समस्या वर्षेनी जहाँको त्यहीँ रहेको थापाले बताए ।

गएको वर्ष पनि रणजोर खोलाले धेरै किसानको खेत कटान गर्नुको साथै पाकेको अन्नवाली बगाएको थियो । खोलाले खेती योग्य जमीन कटान गरेपछि स्थानिय किसानहरु खोला तटवन्धनको माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिसम्म पुगेका थिए । व्यवस्थापन समितिले दश वटा जाली दिएर पठायो । उक्त जाली कुन ठाउँमा लगाउनु थापाले भने ।

गएको दुुई आर्थिक वर्ष लगातार जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले रणजोर खोलाको पक्की मोटरेवल पुलवाट केही तलसम्म दुवै तर्फ वाँध बाधेर त्यस मुनिको क्षेत्रमा त्यतीकै छोडीदिदा खोला खेतमा पसेको हो । रणजोर खोलाले कटान गर्दै जाँदा मन्थली घाटमा रहेको झोलुङ्गे पुल र सो आसपासको वस्ती समेत जोखिममा रहेको छ ।

Scroll to Top