रामेछाप । गएरातीको निरन्तर वर्षातका कारण गएको पहिरोले पुष्पलाल राजमार्ग अन्तर्गत रामेछाप दोलखा जाने सडक अवरुद्ध भएको छ ।


सो राजमार्ग अन्तर्गत दोलखा जिल्ला तामाकोशी गाउँपालिकाको खिम्ती खोला नजिकै सडक माथीवाट झरेको पहिरोका कारण यातायातका साधनहरु पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । पहिरो झरेपछि रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको चरिकोट तर्फ जाने यातायातका साधनहरु ठप्प भएका छन् ।

अहिले वर्षात रोकिए पछि झरेको पहिरो जेसिभी लगाएर पन्छाउने काम भइरहेको रामेछापको खिम्ती प्रहरी चौकीले जानकारी दिएको छ । चाडै उक्त पहिरो पन्छाएर अवरुद्ध यातायात सेवा सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ । पुष्पलाल राजमार्ग अवरुद्ध भएपछि हाल यातायातका साधनहरु विपी राजमार्ग हुँदै सञ्चालनमा आएका छन् ।



वर्षा निरन्तर भइरहेकाले यात्रा गर्दा रातको समयमा यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्रा यात्रा गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकहरुलाई अनुरोध गर्दै आएको छ । अझै केही दिन वर्षा निरन्तर हुने भन्दै मौसम पुवार्नुमान महाशाखाले सूचना जारी गरे सँगै वर्षा अझै हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले आग्रह गरेको छ ।