रामेछाप । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री दुर्गा बहादुर श्रेष्ठले चलाएको बा १३ च ५३२३ नम्वरको रेडक्रसको गाडी सोमवार दिउँसो दुर्घटनामा परेको छ ।

कार्यालयमा सवारीसाधन चलाउन तलव दिएर चालक भर्ना गरेता पनि मन्त्री श्रेष्ठले आफै गाडी चलाएर निजी कामको लागि लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको मावि ज्यामिरे पुगेका थिए । मन्त्री श्रेष्ठ ज्यामिरे माविको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष समेत हुन् ।

विद्यालयको वैठकको लागि उनी त्यहाँ पुगेका थिए । बैठक सकेर सोही वडाको खालीटारमा क्रियापुत्री वसेका खिलनारायण श्रेष्ठलाई भेटन सामानहरु सहित मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । खिलनारायणका बुबा चित्रवहादुर श्रेष्ठको केही दिन अघि मृत्यु भएको थियो । क्रियापुत्री भेटेर फर्कने क्रममा खपाङ्गे डाँडामा मन्त्री श्रेष्ठले चलाएको गाडी दुर्घटना परेको स्थानिय कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।


गाडीमा मन्त्री श्रेष्ठ मात्रै सवार थिए । मानविय क्षती केही नभएपनि गाडी सडकवाट तल मकै बारीमा खसेको थियो । दुर्घटनापछि स्थानियहरुले हरिस, डोरी, दाम्लो लगाएर तान्ने र मकैबारी खन्दै घन्टौ समय लगाएर उक्त गाडी निकालेका थिए । यसअघि पनि मन्त्री श्रेष्ठले रेडक्रसको गाडी लिएर पटकपटक गाउँ जाने गरेका थिए । मन्त्री श्रेष्ठको घर पनि सोही गाउँमा नै हो । श्रेष्ठले सोही गाडी सिकेर भर्खर चलाउन सक्ने भएका छन् उनीसँग सवारीसाधन चलाउने चालक अनुमती पत्र भए नभएको भने एकीन नभएको रेडक्रस रामेछापका एक सदस्यले जानकारी दिए ।

मन्त्री श्रेष्ठले सार्वजनिक सम्पती व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्दै आएको रेडक्रसकै पदाधिकारीहरुले बताउँदै आएका छन् । रेडक्रसको गाडी दैविप्रकोप, उद्धार, राहात लगाएतका क्षेत्रमा बाहेक अन्यत्र सवारीसाधन प्रयोग गर्न नपाइने भनेता पनि रामेछापमा भने त्यसको वेवास्ता गर्दै रेडक्रसको गाडी देखी मोटरसाइकल र स्कुटरसम्म व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । सार्वजनिक सम्पतिको सदुपयोग गर्नुको सट्टा चरम दुरुपयोग भएको भन्दै स्थानिय बिवेक किरण श्रेष्ठले सामाजिक सञ्जाल मार्फत चिन्ता व्यक्त गरेका छन् ।
दैविप्रकोप र कार्यालयको काम वाहेक व्यक्तिगत रुपमा सवारीसाधन प्रयोग गर्न नपाइने निर्णय गरौं भनेर वैठकमा पटकपटक कुरा उठाउँदा पनि यसको सुनुवाई नभएको रामेछाप रेडक्रसका उपसभापति नारायणदास श्रेष्ठले जानकारी दिए । उनले भने– रेडक्रसको सवै सवारीसाधनको चरम लारवाही भएको छ । गाडीमा रेडक्रसको लोगो राखिएकाले मोटरसाइकल र स्कुटरमा पनि लोगो राखौं भन्दा पनि त्यसको समेत सुनुवाई नगरी व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्दै आएको बताए ।

यता गाडी दुर्घटनाको बिषयमा रामेछाप रेडक्रसका सभापति शिवकुमार कार्कीसँग सम्र्पक गर्दा उनले मन्त्री श्रेष्ठले खिम्ती वजारसम्म पुगेर एकछिनमा फर्कन्छु भनेर गाडी लगेको जानकारी गराएको र गाउँ जान्छु भन्ने कुरा मलाई थाहा दिएका थिएनन । हिजो राती मात्रै स्थानिय एकजनाले रेडक्रसको गाडी दुर्घटना भयो भनेर टेलिफोन गरेपछि मात्रै मैले गाडी दुर्घटना भएछ भन्ने थाहा पाए । त्यसपछि मैले पटकपटक मन्त्रीलाई टेलिफोन गर्दा पनि उहाँको फोन उठेको छैन् सभापति कार्कीले बताए ।