वनका कर्मचारीको मिलेमतोमा रामेछापको फुलासीमा हजारौं रुख काटिए

रामेछाप । चिसापानी सव डिभिजन वन कार्यालय मन्थली र डिभिजन वन कार्यालय रामेछापका कर्मचारीको मिलेमतोमा मन्थली नगरपालिका–१३ र १४ नम्वर वडाका सामुदायिक वनमा हजारौं रुख कटान गरी रातारात चोरी निकासी गर्दै आएका छन् ।

चिसापानी सव डिभिजन वन कार्यालय मन्थलीका प्रमुख सहयोग क्षेत्री, वन रक्षक द्धय नवराज घिमिरे र निरवहादुर हायुको मिलेमतोमा मन्थली नगरपालिका–१३ फुलासीका चार सामुदायिक वन र १४ नम्वर वडाका चार वटा सामुदायिक वनमा रहेका उतिस प्रजातीका काठ रातारात कटान गरी राती नै टाँचा र शिल गरेर काठ व्यवसायीलाई छुटपूर्जि दिई पठाउँने काम गर्दै आएका छन् । उक्त वन चिसापानी सव डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ ।

फुलासीका दुईवटा वडामा स्थानिय उपभोक्ताहरुले आफ्नो वारी कान्ला तथा खरपाखोमा भएका उतिस प्रजातीका काठ विक्री गर्ने गरेको भन्दै वनका कर्मचारीहरुले उपभोक्ता देखाएर सामुदायिक वन अन्तर्गत खोला खोल्सी, सार्वजनिक पधेँरा, चौतारा लगाएतका काठ अन्धधुन्ध तरीकाले कटान गर्दै आएको मन्थली नगरपालिका–१३ की सम्झना खड्काले जानकारी दिइन ।

स्थानिय उपभोक्ताहरुले आफ्नो वारी कान्लाको रुख काटेर विक्री वितरण गर्न पनि डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्छ । कार्यालयले नापी कार्यालयवाट अमिन र वनका कर्मचारी समेत गई व्यक्तीको पूर्जा भित्र परे नपरेको एकिन गर्नुपर्ने हुन्छ । साध सिमाना छुट्टाएर व्यक्तिको जग्गाभित्र परेमा मात्र रुख कटानको लागी डिभिजन वन कार्यालयले कटान आदेश दिने र उपभोक्ताले काट्न पाउने कानुनी प्रावधान रहेको छ ।

तर अहिले फुलासीका दुईवटा वडामा जम्मा पाँचजना व्यक्तिको व्यक्तिगत जग्गामा कटान आदेश दिएको देखाउँदै वनका कर्मचारीहरुले लाखौं रुपैयाँ रकम व्यापारीसँग लिई सामुदायिक वनका काठ काट्दै रातारात पठाउँदै आएका छन् । हाल मन्थली नगरपालिका–१३ का शेरादेवी, सेतीदेवी, लालीगुराँस र सिद्धेश्वरी सामुदायिक वनमा रहेको खोल्सा, पँधेरा लगाएतका अधिकासं स्थानका उतिस काठ राती नै सेटिङ्गमा पठाउने गरेको मन्थली नगरपालिका–१३ का वडा अध्यक्ष नवराज मगरले जानकारी दिए ।

उनले भने– व्यक्तिको जग्गाको भन्दै वनका कर्मचारीहरुले सार्वजनिक जग्गाको काठ यत्रतत्र काटेका छन् । मैले आफ्नो वडा भित्रका सामुदायिक वनका काठ नकाट्न पटकपटक कर्मचारीहरुलाई भन्दा पनि उनीहरुले अटेर गर्ने गरेका छन् । राती १ वजे जंगलमा काठ व्यवसायी र वनका कर्मचारीहरु भोज गर्दै, राती नै टाँचा लगाउने देखी शिल गर्नेसम्मको कार्यगर्दै आएका छन् । काटेको काठ राती नै गाडीमा लोड गरी लैजाने गरेका छन् । एकपटक स्थानिय युवाहरुसँगको सहयोग लिइ १५ वटा गाडी राती रोकी विहान छलफल गरेपछि मात्रै छोड्ने भनेर आफु घरतर्फ फर्के । तर उनीहरुले प्रहरीको सेटिङ्गमा सवै गाडी रातारात भगाएको पनि अध्यक्ष मगरले बताए ।

रातको समयमा किन टाँचा र शिल गरेको भन्दा कर्मचारीहरुले जिल्लाभर एउटा मात्रै टाँचा र शिल गर्ने मेशिन भएको भन्दै आफुलाई गैर जिम्मेवार जवाफ दिएर कर्मचारीहरु रातभर सामुदायिक वनमा काम गर्ने गरेका छन् । वडा स्तरमा व्यक्तिका कान्ला, खरपाखामा भएका उतिसका काठ विक्री गर्दा पनि स्थानिय तहमा जम्मा हुने वन पैदावर कर करिव ३ लाख भन्दा वढी वडा कार्यालयलाई घाटा लागेको छ । सामुदायिक वनवाट काठ चोरी निकासी हुने गरेकाले यसलाई रोक्न पटकपटक प्रहरीमा खवर गर्दा पनि प्रहरीले समेत वेवास्ता गरेको अध्यक्ष मगरले बताए ।

त्यसैगरी वनका कर्मचारीहरुको मिलेमतोमा फुलासी–१४ मा रहेका इन्द्रावती, ढ्याङग्रे खोला, एकलमाने र ठोकर खोला लगाएतका सामुदायिक वनमा समेत काठ काटिएका छन् । धेरै सामुदायिक वन आसपास काठ काटिएको तर वन वा व्यक्ति कसकोमा कटान भएको भन्ने जानकारी आफुले नलिएको फुलासी १४ नम्वर वडाका वडा अध्यक्ष मोतिलाल तामाङ्गले बताए । उनले भने– काठ त धेरै काटेको छ है ? तर व्यक्तीको हो की जंगलको हो मैले बुझेको छैन ।

फुलासीका सामुदायिक वनमा काठ काटेको सम्वन्धमा चिसापानी सव डिभिजन वन कार्यालयका प्रमुख सहयोग क्षेत्री सँग सम्र्पक गर्दा उनले सामुदायिक वनमा नभै व्यक्तिको जग्गामा रहेका काठ कटान भएको छ । तर फिल्डमा त जंगलको काठ धेरै काटेको छ त भन्दा उनी झस्किए । कती व्यक्तिलाई कटान आदेश दिनु भएको छ भन्दा अधिकृत क्षेत्रीले डिभिजन वन कार्यालयमा सोध्नुस् भन्दै पन्छिए ।


यता डिभिजन वन कार्यालय रामेछापका डिभिजनल वन अधिकृत उमाशंकर प्रसाद जयसवाल सँग सम्र्पक गर्दा उनले रातीको समयमा पनि टाँचा, शिल र छुटपूर्जि दिन मिल्ने बताए । उनले भने– फुलासीको १३ नम्वर वडामा कुनै पनि कटान आदेश नदिएको तर १४ नम्वरको हकमा पाँच उपभोक्ताको फायल वनेको जानकारी दिए ।

तर कानुन त दिउँसो ५ वजेपछि रुखमा टाँचा लगाउन पाइदैन । वनका कर्मचारीहरुले व्यवसायीको मिलेमतोमा रातीको १ वजे पनि वनमा गएर रुखमा टाँचा लगाउने कार्य गर्दै आएका छन् । काटिएका रुखहरु स्थानिय जंगलमा नै घाटगद्दी गर्ने गरेका छन् । कर्मचारीले काठमा शिल लगाउने बेलामा जंगलमा नै मादक पदार्थ सेवन गर्ने, ठूलोठूलो स्वरमा टेपरेकर्डमा गित वजाएर नाचगान गर्ने गरेको र जंगलवाट काठ गाडीमा लोड गरी पठाएपछि व्यवसायीले कर्मचारीलाई लिखु तामाकोशी गाउँपालिका–६ खिम्ती खोलामा रहेको एक होटलमा ल्याएर त्यहाँ माछा र दारुपानी खुवाउने गर्ने गरेको एक स्थानियले जानकारी दिए ।

फुलासीका दुई वटा वडाका अधिकासं सामुदायिक वनमा कटान भएका केही काठ व्यवसायीहरुले मन्थली नगरपालिका–१ सुकाजोर खोलामा रहेको भेनिएर उद्योग, सलार्हीमा रहेका भेनियर उद्योगहरु र केही महोत्तरीमा रहेका भेनिएर उद्योगमा लैजाने गरेका छन् । अहिले पनि उक्त सामुदायिक वनमा काटेर छाडेका काठ यत्रतत्र रहेका छन् ।

Scroll to Top