रामेछाप । रामेछाप नगरपालिका–१ गोठगाउँ स्थित भाजुटोलमा गएराती एक युवकको रहस्यमय मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी वर्ष ३३ का नविन तामाङ्ग रहेका छन् । उनी गाउँकै चेकवहादुर श्रेष्ठ विरामी परेकाले उनलाई हेर्न गएका थिए । तामाङ्ग सँगै उनका काका, मामा र अन्य छिमेकी दुईजना पनि सँगै थिए । उनीहरु सवैजनाले विरामी चेकवहादुर कै घरमा मादक पदार्थ समेत सेवन गरेका थिए । चेकवहादुर क्यान्सर पिडीत विरामी भएकाले उनको अवस्था गम्भिर छ । उनलाई हेर्न स्थानियहरु दैनिक जसो जाने गरेको स्थानिय युवराज सापकोटाले जानकारी दिए ।

चेकवहादुरको घरवाट राती मामा, काका र अन्य दुईजना सँगसँगै निस्कीएका तामाङ्ग घर पुग्न पाएनन । उनको विच वाटोमा नै ज्यान गयो । उनीसँगै निस्किएका अन्य सवैजना आआफ्नो घर पुगेका थिए । शनिवार विहान गाउँका महिलाहरु अन्न पिस्नको लागी मिलमा जाने क्रममा सोही वाटो हुँदै जाँदा साँघुटार तर्फ जाने सडकमै घोप्टो परेर लडिरहेको अवस्थामा तामाङ्गलाई देखेपछि गाउँका अन्य मानिसहरुलाई उनले खवर गरेकी थिइन ।



स्थानियहरु तत्काल उक्त स्थानमा पुगेर हेर्दा घोप्टो परेर लडिएरहेको र बोलाउँदा नबोलेपछि मृत्यु भएको हुनसक्ने आशंका गरेर गाउँलेहरुले प्रहरीमा खवर गरेका थिए । घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय धोवीडाँडावाट आज विहान गएको प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मृतक तामाङ्गको शव उनीहरुको आफन्तको सल्लाह अनुसार पोष्र्टमार्टम गर्नको लागि काठमाण्डौं स्थित टिचिङ अस्पताल महाराजगञ्ज पठाइएको छ । पोष्र्टमार्टम रिर्पोट आएपछि मात्रै घटनाको विषयमा थप खुल्ने र हाल अनुसन्धानमा प्रहरी लागि रहेको अधिकारी न्यौपानेले बताए ।