रामेछाप । पार्किङ्ग गरि राखेको मोटरसाइकललाई ठक्कर दिई क्षतविक्षत वनाएपछि क्षतिपूर्तीको माग गर्दै दुई महिना देखी जिल्ला प्रहरी कार्यालय रामेछाप धाउँदै आएका मोटरसाइकल धनीले अहिलेसम्म पनि क्षतीपूर्ति पाउन सकेका छैनन् ।

जेठ ९ गते राती मन्थली नगरपालिका–१ देवकोटा चोकको ओरालोमा पार्किङ्ग गरि राखेको बा ०२ प ०२०–८७४७ नम्वरको प्लसर मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय तर्फवाट गएको बा ४ ख ६७९७ नम्वरको टिफरले ठक्कर दिई क्षत विक्षत वनाएको थियो । त्यस्तै उक्त टिफरले सोही मोटरसाइकल पार्किङ्ग गरेको घरधनी रमेश ढुगेलको घरको नालामा समेत क्षती पुर्याएको थियो ।

गाडीले मोटरसाइकल र घरको नाला क्षती पुर्याएपछि टिफर चालकले गाडी रोकेर क्षतीको बिषयमा एकिन गर्नुको साटो उल्टै टिफर झन तिव्र गतिमा दौडाएका थिए । गाडीले मोटरसाइकल र घरमा क्षती पुर्याएको देखेपछि देवकोटा चोकमा वसेका प्रहरीले टिफर रोक्न खोज्दा चालकले गाडी नरोकी सेलेघाट तर्फ कुदाएका थिए । चालकले गाडी कुदाएको देख्दा मस्त मदिराको नसामा भएको हुनसक्ने स्थानियहरु बताउँछन् । उक्त गाडी प्रहरीले सेलेघाटमा नियन्त्रणमा लिए पनि चालक नियन्त्रणमा लिन सकेनन् ।


सोही घटनालाई लिएर मन्थली नगरपालिका–१ देवकोटा चोकमा पसल सञ्चालन गर्दै आएका सागर फेन्सी स्टोर्सका संञ्चालक अनमोल भण्डारी र घरधनी रमेश ढुंगेलले क्षती भएको मोटरसाइकल र नालाको मर्मत सम्भारको लागि क्षतीपूर्ति भराईपाउँ भनि जेठ १० गते जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका थिए ।
पिडीतको निवेदन पछि प्रहरीले दुवै पक्षलाई छलफलको लागि प्रहरी कार्यालयमा बोलाएर क्षती भएको मोटरसाइकलको २ लाख ८० हजार नगद दिने र क्षती भएको नाला बनाइदिने सहमती गरेको थियो । सहमती पछि टिफर धनीले घरको नाला बनाउन केही रकम दिएपनि पुरै रकम नाला बनाउने कामदारलाई समेत नदिएको घरधनी रमेश ढुंगेलले जानकारी दिए । उनले भने– कामदारको सवै पैसा दिन्छु भनेर काम लगाइयो । अहिलेसम्म पनि कामदारले रकम पाउन सकेका छैनन् । टिफर धनीलाई पैसा पठाईदिन धेरै पटक भने पनि अहिलेसम्म पनि रकम दिएका छैनन् ।

त्यस्तै अर्का पिडीत मोटरसाइकल धनी अनमोल भण्डारीले दुई महिना बित्दा पनि पैसा पाउन नसकेको जानकारी दिए । उनले भने– पसलको सामान ल्याउन यताउता हिड्नु पर्छ, भएको मोटरसाइकल पनि टिफर धनीलाई नै जिम्मा दिइयो । प्रहरी कार्यालयमा भएको सहमती अनुसार अहिलेसम्म पनि क्षतीपूर्ति वापतको रकम प्रहरीले नभराइदिदा समस्या भएको बताए ।
मोटरसाइकल धनीले क्षतीपूर्ति नपाएको बिषयमा पटकपटक टिफर धनीलाई सम्र्पक भइरहेको र चाडै नै क्षतीपूर्ति वापतको रकम दिने बताएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । उनले भने– टिफर हाम्रो नियन्त्रणमा छ । पटकपटक पिडीतलाई क्षतीपूर्ति वापतको रकम दिनु भनेका छौं । सायद केही दिनमा मिल्छ होला ।
यता देवकोटा चोक टोल सुधार समितिका केही पदाधिकारीहरुले भने प्रहरीले पिडीतलाई न्याय दिनुको सट्टा झनै पिडा थपेको बताउँछन् । पार्किङ्ग गरी राखेको मोटरसाइकललाई ठक्कर दिएर क्षती बनाएको छ, पिडीतले न्याय पाउँ भन्दा महिनौसम्म पनि न्याय नपाउनु दुःख लाग्दो कुरा हो । प्रहरी पिडीतको पक्ष लिनु भन्दा पनि पिडकको पक्ष लिएको देखिएको एक स्थानियले बताए ।