रामेछापमा ७ हजार ८४६ मतदाता थपिए

रामेछाप । फागुन २१ गते गरिने प्रतिनिधिसभा निर्वाचनमा रामेछापवाट ७ हजार ८४६ जना मतदाता थपिएका छन् ।

दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको रामेछापमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापवाट कुल १ लाख ८० हजार १ सय ६ जना मतदाता संख्या रहेको थियो । जसमा यसपटक हुने निर्वाचनमा उक्त संख्यावाट वढेर कुल १ लाख ८७ हजार ९ सय ५२ जना मतदाता संख्या पुगेको छ । जसमा पुरुष मतदाता संख्या ९६ हजार ८९२ जना र महिला मतदाता संख्या ९१ हजार ६० जना कायम भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले जानकारी दिए ।

उनले भने– मतदाता संख्या थपिएसँगै यसपटक जिल्लामा दुईवटा मतदान स्थल समेत थपिएको छ । थप भएका मतदान स्थलमा उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–५ प्रिती स्थित सरस्वती माध्यमिक विद्यालय सुनुवारधारा र मन्थली नगरपालिका–११ गेलु स्थित मनकामना माध्यमिक विद्यालय नाटिला रहेका छन् । जसमा सरस्वती माध्यमिक विद्यालय मतदान स्थलमा ९० जना र मनकामना माध्यमिक विद्यालय गेलुको नाटिलामा १८२ जना मतदाता थप भएसँगै मतदान स्थल थप गर्नुपरेको हो । यसपटक जिल्लामा ९६ वटा मतदान स्थल र २ सय २८ वटा मतदान केन्द्र कायम भएको अधिकृत लामिछानेले बताए ।

निर्वाचन कार्यालय रामेछापले गत असोज ९ गतेदेखी मसिंर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो । मतदाता नामावली संकलनको क्रममा निर्वाचन कार्यालयले आगामी फागुन २० गतेसम्म १८ वर्ष पुरा भएका नागरिकलाई मतदान गर्न पाउने गरी मतदाता नामावलीमा नाम समावेश गरेको हो । मतदाता नामावली संकलनको समयमा नागरिकले अनलाइन मार्फत निर्वाचन आयोगमा मतदाता नामावलीमा नाम लेखाई कार्यालयमा सम्वन्धित जिल्लाका निर्वाचन कार्यालयमा पुगेर फोटो खिच्न र ल्याप्चे लगाएका थिए । त्यस्तै कतिपय नागरिकहरु मतदाता नामावलीमा नाम समावेश गर्न सिधै निर्वाचन कार्यालयमा नै पुगेका थिए ।

Scroll to Top