रामेछापमा निर्वाचन प्रहरी ४३३ अपुग,तेस्रो पटक म्याद थप

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि भर्ना खुलाइएको निर्वाचन प्रहरीमा ४३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्याद थप आवेदन माग गरेको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन चाहने व्यक्तिले माघ १० र ११ गते दुई दिनसम्म दरखास्त दिन पाउनेछन् । निर्वाचनको लागि रामेछापमा १ हजार ३३३ जना दरवन्दीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले पहिलो पटक पुस २५ देखी माघ १ गतेसम्मको लागि दरखास्त आव्हान गरेको थियो । माग बमोजीम दरखास्त नपरेपछि प्रहरीले पुन दुई दिन म्याद थप गरेर दोश्रो पटक सूचना निकालेको थियो । सूचना सँगै प्रहरीले बजार एरियामा दरखास्त पेश गर्न माइकीङ समेत गरेको थियो ।

दुईपटक म्याद थप गर्दा जम्मा ९ सय जनाले मात्रै आवेदन पेश गरेका थिए । आवेदन पेश गरेकाहरुको हकमा तालिम संचालन गर्दै आएको र नपुग अन्य प्रहरीको हकमा पुनः तेस्रो पटक सूचना प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । निर्वाचन अवधिभर हुने चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक निर्वाचन प्रहरीलाई रासन र आतेजाते खर्च ८४६ रुपैयाँ थप तयारी खर्च समेत पाउने छन् । त्यसैगरी उनीहरले चार दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च र पोसाक बापतको छुट्टै रकम समेत प्रदान गरिने छ ।

Scroll to Top