रामेछापमा अपुग भए निर्वाचन प्रहरी

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि माग गरिएको निर्वाचन प्रहरीमा तीन पटक म्याद थप गर्दा पनि आवेदन दिनेको संख्या अपुग भएको छ ।

निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले एक हजार ३३३ जना निर्वाचन प्रहरी माग गरेको थियो । प्रहरीले माग गरे अनुसार पहिलो पटक प्रयाप्त मात्रामा आवेदन नपरेपछि दोश्रो पटक सूचना प्रकाशन गरेको थियो । दोश्रो पटकमा पनि भनेजती आवेदन नपरेपछि तेस्रो पटक दुई दिनको म्याद थप गरी आवेदन माग गरेता पनि माग गरे अनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तीन पटक आवेदनको म्याद थप गर्दा जम्मा एक हजार २२० जनाको मात्रै आवेदन परेको छ । आवेदन माग गरेको संख्या भन्दा ११३ जना कमी भएपछि अपुग निर्वाचन प्रहरी छिमेकी जिल्ला सिन्धुलीवाट झिकाउने तयारी प्रहरी कार्यालयले गरेको छ । त्यस्तै सशस्त्र प्रहरीले माग गरेको निर्वाचन प्रहरीमा ९६ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीमा आवेदन दिएका गरी कुल एक हजार ३१६ जनालाई यहीँ माग १८ गते देखी तालिम प्रदान गरिने जनाइएको छ ।

Scroll to Top