दुईदिनमा तीन ठाउँमा चोरी,तीन युवा पक्राउ

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा दुई घर र लिखु तामाकोशी गाउँपालिकामा एक घर गरी दुईदिनमा तीनवटा घरमा चोरी भएको छ ।

चोरी गर्नेले घरमा कोही नभएको मौका पारी घरको ढोका फोडेर घरमा भएको नगद, सुन र ल्यापटप, पसलमा रहेको बिएर, रेडवुल, लिची जुस, चुरोट लगाएतका सामाग्रीहरु चोरी गरेका छन् । चोरीमा संलग्न मध्ये दोरम्बा शैलुङ गाउँपालिकाका दुई युवा र लिखु तामाकोशी गाउँपालिका एक युवा गरी तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरीमा संमलग्न रहेका दोरम्बा शैलुङ गाउँपालिका–१ का २९ वर्षीय आटी तामाङ र ३७ वर्षीय फेमस तामाङ रहेका छन् । उनीहरुलाई खोजतालसको क्रममा प्रहरीले शनिबार बिहान दोरम्बा शैलुङ गाउँपालिका–१ खोलाखर्कस्थित शैलुङ जाने बाटोमा फेला पारेको हो । उनीहरु बा ६३ प ३९५ नम्बरको मोटरसाइकलमा हिड्दै गर्दै प्रहरीले शंका लागी चेकजाँच गर्ने क्रममा सामाग्री समेत फेला परेकाले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि वढाएको छ ।

उनीहरुले शुक्रवार दोरम्बा शैलुङ गाउँपालिका–७ थापागाउँका बमवहादुर नगरकोटीको घर फोडी घरभित्र रहेको १५ हजार नगद, आधा तोला सुनको तिलहरी चोरी भएको थियो । त्यस्तै सोही गाउँपालिका–६ का सुकदेव गौतमको घर चोरी भएको छ । चोरले गौतमको घर फोडी ३ हजार नगद र एचपी कम्पनीको ल्यावटप चोरी गरेका थिए ।

त्यसैगरी लिखुतामाकोशी गाउँपालिका–६ माथिल्लो खिम्ती बजारमा चिया–खाजा पसल सञ्चालन गर्दै आएका बद्री बहादुर थापाको पसल समेत चोरी भएको छ । चोरले पसलको ढोकाको ताल्चा फुटाई भित्र रहेका बियर, लिची जुस, चुरोट र रेडबुललगायत सामान चोरी भएको प्रहरीले जनाएको छ ।

चोरले शनिवार दिउँसै पसलको ढोका फोडी चोरी गरेको हो । पसल चोरी भएको थाहा पाएपछि व्यवसायी थापाले प्रहरी चौकी खिम्तीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा चोरको खोजी कार्यमा जुटेको प्रहरीले स्थानिय २१ वर्षिय विनोद थापालाई नियन्त्रणमा लिएको छ । निज थापाले चोरी गरेको स्वीकारेपछि प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछाप पठाएको खिम्ती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोला काजी तामाङले जानकारी दिए ।

Scroll to Top