रामेछाप । लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउँदै आएका तीनजना चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।

बिहिवार सडक अनुसाशन तथा सवारी दुर्घटना न्युनीकरणको लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पुष्पलाल राजमार्ग हुँदै सञ्चालन हुने साना तथा ठूला गरी ३७ वटा सवारीसाधनका चालकलाई चेकजाँच गर्ने क्रममा तीनजना चालकले लागू पदार्थ सेवन गरी सवारी चलाएको फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
लागू औषध सेवन गरी सवारी चलाउने चालकलाई कानुन अनुसार आवश्यक कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पछिल्लो समय रामेछापमा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । प्रहरीले सदरमुकाम मन्थलीमा बेलाबेलामा चेकजाँच गरेर लागू औषध खाएर सवारीसाधन चलाउने चालकलाई कार्वाही गरेता पनि चालकहरुले भने लागू औषधी सेवन गर्न छाडेका छैनन् ।


यसअघि पनि जिल्लामा लागू औषध खाएर सवारी दुर्घटना भएका धेरै घटनाहरु भएका छन् । प्रहरीले सदरमुकाम पेरीफेरीमा मात्रै चेकजाँचमा कडाई गरेता पनि जिल्लाको ग्रामिण भेगमा संञ्चालित यातायातका साधन चलाउने चालकहरुले अत्याधिक मात्रामा लागू औषध सेवन गर्ने गरेको गुनासो पटकपटक यात्रीहरु गर्दै आएका छन् ।




