रामेछाप । रामेछापका अस्पतालहरुमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मगंलवार देखी नै अस्पतालको ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएसँगै उपचारको लागि अस्पताल पुगेका विरामीहरु मारमा परेका छन् ।

केही दिनअघि नारायणी अस्पताल विरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई केही अराजक समुहले सांघातिक आक्रमण गरेको थियो । उक्त घटनाको बिषयलाई लिएर नेपाल चिकित्सक संघले आन्दोलनको घोषणाको कार्यक्रम सार्वजनिक गरेसँगै देशभरका अस्पताहरुमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी माथि सांघातिक आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिई कानुनी कार्वाही नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
सोही बिषयलाई लिएर रामेछापमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर केसीलाई ज्ञापन पत्र बुझाएउँदै जिल्लाका सवै अस्पताहरुको ओपिडि सेवा बन्द भएको जनाएका छन् ।





