रामेछाप रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बाड्यो ४० डस्टबिन

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामेछापले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सोमवार मन्थली वजार सरसफाई सँगै ४० वटा डस्टबिन वितरण गरेको छ ।

उक्त कम्पनीले सहजिकरण गरि रामेछाप उद्योग वाणिज्य संघसँगकाे आयोजनामा मन्थली बजारलाई स्वच्छ र व्यवस्थित बनाउने उद्धेश्यले सरसफाई अभियान सञ्चालन गर्नुको साथै उठेको फोहोर राख्नको लागि ४० थान डस्टबिन वितरण गरेको हो । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बजार क्षेत्रमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामेछापका प्रमुख शान्ता श्रेष्ठले जानकारी दिइन ।

फोहोर ब्यवस्थापनको लागि बजारका विभिन्न मुख्यमुख्य स्थानमा डस्टबिन राख्नुको साथै उद्योगी व्यवसायी, स्थानियवासी, नागरिक समाजका अगुवा, टोल सुधार समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीले संयुक्त रुपमा बजार क्षेत्रको सरसफाई गरेका थिए । उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेल, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङ लगाएतको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले बजारमा डस्टबिन राखेर मात्रै फोहोर व्यवस्थापन नहुने भन्दै यसको नियमित प्रयोग र उचित व्यवस्थापनमा व्यवसायी तथा सर्वसाधारण सचेत हुनुपर्ने बताएका छन् । मन्थली बजारको सौन्दर्य कायम राख्न सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै सरसफाईलाई एकदिने कार्यक्रमका रुपमा मात्र नभई निरन्तर अभियानका रुपमा अघि बढाउनुपर्ने रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए ।

रिलायबल नेपाल लाइफको स्थापना दिवसको अवसरमा गरिएको सरसफाई तथा डस्टबिन बितरण कार्यक्रमले मन्थली बजारलाई स्वच्छ र ब्यवस्थित बनाउने अभियानमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत जोडेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदासले आग्रह गरेका छन् ।

Scroll to Top