रामेछाप । नेपाली काँग्रेसको १५ औं नगर अधिवेशन अन्तर्गत रामेछापका ८ वटा स्थानिय तहहरु मध्ये ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जसमध्ये मन्थली नगरपालिकाको नगर सभापतिमा रमेश काफ्ले, गोकुलगंगा गाउँपालिकाको पालिका अध्यक्षमा रबिन्द्र बस्नेत, लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा दीपक पुलामी, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा महेश भण्डारी र दोरम्वा शैलुङ गाउँपालिकाको अध्यक्षमा लालवहादुर मगर निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी रामेछाप नगरपालिकाको नगर सभापतिमा निर्वतमान सभापति कमल विक्रम कार्कीलाई पुन तेस्रो कार्यकालको जिम्मेवारी दिएपछि असन्तुष्ट काँग्रेसका नेता मोतिलाल तामाङले कार्कीको उम्मेदवारी काँग्रेसको विधान विपरित भएको भन्दै तत्काल खारेज गरि पुनः अर्को नगर सभापति गठन गर्नुपर्ने भन्दै जिल्ला निर्वाचन समिति र नेपाली काँग्रेस पार्टी कार्यालय रामेछापमा उजुरी दर्ता गराएपछि अन्यौल उत्पन्न भएको छ । त्यस्तै खाडाँदेवी गाउँपालिकाको सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।


जसमा २ उम्मेदवारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपनि अन्य ४ उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि वुधवार राती अवेरसम्म सहमतीको प्रयास गरिएको थियो । सहमति कायम हुन नसकेपछि सो पदमा आज मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।




