रामेछाप । गृह मन्त्रालयले परिपत्र गरेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक बिदाको दिनमा पनि नागरिकलाई सेवा प्रवाह गर्ने भएको छ ।
जिल्ला प्रशासनले २०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचना अनुसार २०८० साल वैशाख १ गते देखि विभिन्न सार्वजनिक बिदाका दिनमा समेत नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा कार्यालयले प्रदान गर्ने भएको हो ।
यसअघि सार्वजनिक विदाका दिन कार्यालय बन्द हुँदा नागरिकहरुले सेवा पाउन सकेका थिएनन् । अब सार्वजनिक बिदाहरु जस्तै उँधौली पर्व–चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, योमरी पुन्हि–ज्यापू दिवस (धान्य पूर्णिमा) लगायतका सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुँदा नागरिकहरुले थप सेवा पाउने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
त्यस्तै प्रशासनले तमु ल्होसार, माघी पर्व (माघे सङ्क्रान्ति), सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजाह), गणतन्त्र दिवस, जय युद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्ती लगायतका सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए ।