
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले मन्त्री भेटेर आगामी आर्थिक वर्षमा सांगितीक क्षेत्रमा पनि वजेट छुट्याउन माग गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङलाई भेट गरेर वजेट माग गरेका हुन् ।

प्रतिष्ठानले लोकदोहोरी क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा रकम विनियोजन गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । त्यस्तै २०८० सालको खर्च विवरण समेत पेश गर्दै राष्ट्रिय लोक सांस्कृतिक संग्रहालय निर्माणका लागि ५५ करोड, अग्रज स्रष्टा सांगीतिक एकल साँझका लागि ५० लाख, दोहोरी रनिङ शिल्ड प्रतियोगिताको लागि ७५ लाख, लोक सांस्कृतिक महोत्सवका लागि १ करोड र तीज उत्सवका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिदिन अनुरोध गरेको छ ।
त्यस्तै संस्कृति मन्त्रालयले तयार पार्न लागेको नियमावलीमा दोहोरीगीत क्षेत्रलाई पनि समेट्न मन्त्री किरातीसँग आग्रह गरिएको अध्यक्ष रीता थापामगरले जानकारी दिइन ।