पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने

रामेछाप । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव परेको छ । हाल प्री–मनसुनी गतिविधि सक्रिय भएकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ती क्षेत्रको मौसम अहिले आंशिक बदली भइरहेको पनि महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

अबका तीन दिन देशभर मेघगर्जन र चट्याङ्सहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Scroll to Top