रामेछापका पशुमा फैलियो लम्पी स्किन रोग

रामेछाप । मन्थली नगरपालिकाका १४ वटै वडाका किसानहरुले पालेका गाई तथा भैसीमा लम्पी स्किन रोगको संक्रमण देखा परेको छ ।

सबैभन्दा बढी मन्थली नगरपालिका–६ भलुवाजोरमा यो रोग बढी फैलिएको छ । हाल भलुवाजोरको कुविण्डे, हुलाक डाँडा, बेतीनी, सिमपानी लगायतका स्थानमा यो रोग सङ्क्रमण व्यापक रूपमा फैलिएको र रोगग्रस्त क्षेत्रमा नियमित सङ्क्रमण, उपचार लगायतका कार्य भइरहेको मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिए ।

उनले भने– यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुन्छ । लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठा गुठी देखिने, गाँठा गुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेल गायत लक्षण देखिनेपनि प्रमुख खड्काले बताए ।

पशु चौपायामा लागेको यो रोगको रोकथामको उपाय भनेको खोप नै हो, यो खोप नेपालमा सहजै उपलब्ध छैन, खोपले काम गर्न पनि करिब तीन हप्ता लाग्छ फेरी रोग देखा परेपछि खोप लगाएर पनि ठिक नहुने पशु विज्ञहरु बताउँछन । यस रोगको प्रभावकारी उपचार नहुने हुँदा रोगी पशुहरूलाई बथान बाट अलगै राख्ने, किर्ना लाम्खुट्टे जस्ता परजीवी निराकरण गर्ने, जैविक सुरक्षाको विधि कडाइका साथ पालना गर्दा राम्रो हुने पशु चिकित्सकहरु बताउँछन् ।

मन्थली नगरपालिकाको १४ वटै वडामा गरी १५ हजारको हाराहारीमा गाई÷भैसी किसानले पालन गर्दै आएका छन् । भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग देखा परेको हो ।

Scroll to Top