रामेछाप । खाँडादेवी गाउँपालिका–८ स्थायी घर भई सदरमुकाम मन्थली नगरपालिका–१ मा डेरा गरी बस्दै आएका १५ बर्षिय बालक आदित्य श्रेष्ठले आफ्नै कोठामा डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेका छन् ।
बिहिवार साँझ घरका सवै परिवार सँगै खाना खाएर सुतेका आदित्यले राती पंखामा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् । उनी बिगत चार बर्षदेखी बाथ रोगबाट ग्रसित थिए । उनी बिरामी भएदेखी नै उनका बाआमाले उनलाई समयसमयमा उपचारको लागि राजधानीका सुविधासम्पन्न अस्पतालमा लग्दै आएका थिए । उनलाई केही दिन देखी शरिरमा थप समस्या देखिएपछि शुक्रवार उनका परिवारले उपचारको लागि काठमाण्डौं लैजाने तयारीमा थिए । तर उनलाई परिवारका सदस्यले अस्पतालसम्म लैजान नपाउँदै रातीनै आदित्य सधाको लागि अस्ताए ।
उनले किन आत्महत्याको बाटो रोजे भन्ने बिषयमा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले जानकारी दिए । उनले भने– बेलुका सँगै खाना खाएर बाबा आमासँगै सुतेका आदित्य रातीको समयमा उठेर पल्लो भान्सा कोठामा गएर पंखामा डोरीको पासो लगाई झुण्डिएर आत्म गरेका रहेछन् । उनका बाबा छबिलाल राती ३ वजेको समयमा पिसाव फेर्न उठ्दा ओछ्यानमा छोरा नदेखेपछि छोरालाई खोज्दै जाँदा भान्सा कोठामा झुण्डिरहेको अवस्थामा फेला पारेर उनले प्रहरीमा खवर गरेपछि प्रहरी घटनास्थल पुगेको सुचना अधिकारी थापाले बताए ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोष्र्टमार्टमको लागि मन्थली अस्पताल पठाइएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।