गर्मीले मन्थलीको जनजीवन प्रभावित

रामेछाप । एकसाता अघि देखी वढेको गर्मीले जिल्ला सदरमुकाम मन्थलीको जनजीवन प्रभावित बन्दै गएको छ । केही दिनदेखी जिल्ला सदरमुकाम मन्थलीको वाहिरी क्षेत्रको तापक्रम ३९ डिग्रीसम्म पुगेको छ ।

केही दिनअघि देखी लागेको चर्को घामको कारण वायुमण्डलीय तापक्रम वढेसँगै तातो हावा चल्दा जिल्ला सदरमुकाम मन्थली आसपासको जनजीवन थप कष्टपूर्ण बन्दै गएको हो । बिहानै सूर्योदय हुनासाथ लागेको घामले शरीर पोल्ने गरेपछि बालवालिका, वृद्धवृद्धा र सर्वसाधारण नागरिकहरु घरवाट वाहिर निस्कन समेत समस्या भएको मन्थली नगरपालिका–१ का टेकवहादुर भुजेल बताए ।

केही दिनदेखीको अत्याधिक गर्मीको कारण दिउँसो पढाई हुँदै आएको शैक्षिक संस्थाहरु, सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाहरुमा काम लिएर आउने सेवाग्राही समेत प्रभावित हुँदै आएका छन् । त्यस्तै गर्मीकै कारण दिउँसो हुने व्यापार व्यवसाय झनै चौपट हुन पुगेको स्थानिय व्यवसायीहरु बताउँछन् । वढी गर्मी भएका कारण अन्य पसलहरुमा दिउँसोको समयमा कम मात्रामा मानिसहरु देख्न सकिन्छ भने चिसो, लस्सी पसलहरुमा भने सर्वसाधारण नागरिकहरुको घुइचो लाग्ने गरेका छन् ।

वजार एरियामा प्रयाप्त मात्रामा सर्वसाधारण वस्ने चौतारो पार्टी पौवाहरु नहुँदा सर्वसाधरण नागरिकहरु विभिन्न व्यक्तिहरुको घरको छेउकुनामा अडेस लागि घाम छलेर वस्ने गरेको भेटिन्छन् । सदरमुकाम मन्थलीको देवकोटा चौकमा रहेको एकमात्र पिपल चौतारोमा वस्ने सर्वसाधारणहरुको घुइचो नै लाग्ने गरेको देबकोटा चोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदासले बताए । उनले भने– चरम गर्मीको कारण अन्यत्र वस्ने ठाउँ नै छैन् वजार एरियामा रहेको एक मात्र सार्वजनिक चौतारामा दिउँसो वस्ने ठाउँ भरिभराउँ हुने गरेको छ ।

गएको वैशाख देखी नै वढ्दै गएको गर्मी जेठ महिनाको तेस्रो हप्तावाट झनै अचाक्ली बढेको छ । गर्मी बढ्दै जादा अन्यत्र जिल्लाहरुमा केही दिनको विद्यालय बन्द गराएको भएता पनि मन्थली नगरपालिकाले विद्यालय बन्द गराउने वा विहानको कक्षा संचालन गर्ने भन्ने बिषयमा अहिलेसम्म कुनै निर्णय नगरेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए । अत्याधिक गर्मीका कारण विद्यालय जाने बालबालिकाहरु भने आलसतालस हुने गरेका छन् ।

गर्मीकै कारण सामुदायिक तथा सरकारी स्वास्थ्य संस्थाहरुमा विरामीको संख्या ह्वातै वढेको मन्थली अस्पतालका डा.केशब धामीले जानकारी दिए । उनका अनुसार गर्मीका कारण वढी मात्रामा टाउँको दुख्ने वाकवाकी लाग्ने, रिगंटा लाग्ने, पखाला लाग्ने र जरो आउने विरामीको संख्या केही दिन देखी अस्पतालमा बढेको छ । गर्मीबाट जोगिन घाममा निस्कदा छाता प्रयोग गर्ने, रेवन चस्मा लगाउने, मस्कराइज क्रिम प्रयोग गर्ने, चिसो पेय पदार्थ पिउने र प्रशस्त मात्रामा पानी पिउनु राम्रो हुने डा.धामी बताउँछन् ।

Scroll to Top