रामेछाप । नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको एक समुहले रिले मंगलबारवाट रिले अनशन सुरु गरेको छ ।
विद्यार्थीहरुले विभिन्न माग सहित पार्टी कार्यालयको मुल ढोकामा ७ जना युवाहरुले रिले अनसन शुरु गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई जानकारी नै नदिई आफुहरुले रिले अनसन सुरु गरेको मनिष चौहानले बताए । अनसनमा राजेश भण्डारी,सरोज बुढाथोकी लगायतका बिद्यार्थीहरु रहेका छन् ।
विभिन्न ७ बुँदे माग सहित अनसनमा बसेकाहरुले नेविसंघको जिल्ला नेतृत्व र त्यसको बैधानिकता र अधिबेशनको माग गरेका छन् भने विधान विपरीत पार्टी नेतृत्वको सिफारिस तथा नेतृत्व चयनको गलत प्रक्रिया र नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप मनोमानी ढंगले संञ्चालन गरिएको भन्दै त्यसको विरुद्ध रिले अनसन थालिएको हो । उनीहरुले आफ्नो माग पुरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।
त्यसैगरी उनीहरुले जेठ ३१ गते बुधवार पार्टीले संचालन गर्न लागेको जिल्ला सम्मेलन स्थगित गर्नुपर्ने जिल्लाका सबै स्थानिय तहका नेता कार्यकर्तासँग समन्वय गरेर पहिले पालिका र प्रदेशस्तरको सम्मेलन गरेर मात्रै जिल्ला सम्मेलनको काम गर्नु पर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले गत स्थानीय निर्वाचनमा पार्टीले विधान संम्बत संसदिय बोर्ड गठन नै नगरी आर्थिक लेनदेनको आधारमा गैर काँग्रेसलाई टिकट वितरण गर्दा पार्टीले पराजय भोग्नु परेको आरोप पार्टीका पदाधिकारीलाई लगाएका छन् ।
उनीहरुले पार्टीका पदाधिकारीहरुले स्थानिय तहको टिकट वितरणको बेला आर्थिक चलखेल भएको र चलखेलमा आवद्ध नेतालाई कारबाही गर्नुपर्ने, स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्ध विद्रोही लड्नेलाई आफ्नो अनुकूलताको आधारमा गरेको कारबाही फुकुवा रोक्नु पर्ने र इमानदार कार्यकर्तालाई व्यक्तिगत रिसीबीको आधारमा गरिएको कारबाही तत्काल फिर्ता गर्नु पर्ने माग समेत उनीहरुले अघि सारेका छन् ।
त्यस्तै अनसनरत पक्षले पार्टीको १४ औँ जिल्ला अधिवेशन सकिएको २ वर्ष बितिसक्दा पनि महासमिति सदस्य चयन गर्न नसकेकाले तत्काल चयन गर्नु पर्ने, भातृ संस्थाहरू नेपाल विद्यार्थीसंघ, तरुण दल, महिला संघ, किसान संघ लगायतका संगठनहरुको हुन नसकेको जिल्ला अधिवेशन तत्काल गरी पार्टीलाई गतिशील बनाउन सवै स्थानिय तहहरुमा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम समेत लैजानु पर्ने माग राखेका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यालयमा नेविसंघका विद्यार्थीहरु धर्ना बसेको बिषय आफुलाई कुनै जानकारी नै नभएको नेपाली काँग्रेसका पार्टी उप–सभापति लेखवहादुर कार्कीले जानकारी दिए । उनले भने– हामिलाई कसैलै पनि धर्ना र अनसन बस्ने बिषयमा जानकारी गराएका छैनन् । काँग्रेस पार्टी विधान अनुसार चल्ने भएकाले पार्टी कार्यालयमा अपरिचित ब्यक्तिहरुले शुरु गरेको कथित अनसनले कुनै अर्थ नराख्ने उप–सभापति कार्कीले बताए ।