रामेछाप । दुई दिनअघि विभिन्न ७ बुदे मागसहित नेपाली काँग्रेस पार्टी कार्यालयमा रिले अनसनमा बसेका नेपाल विद्यार्थी संघका विद्यार्थीले आफ्नो माग पुरा हुने आश्वासन पाएपछि जुस पिएर अनसन तोडेका छन् ।
अनसनमा बसेकाहरुले नेविसंघको जिल्ला नेतृत्व र त्यसको बैधानिकता र अधिबेशनको माग अनि विधान विपरीत पार्टी नेतृत्वको सिफारिस तथा नेतृत्व चयनको गलत प्रक्रिया र नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका पदाधिकारीहरुले मनोमानी ढंगले संञ्चालन गरेको भन्दै त्यस विरुद्धमा रिले अनसन शुरु गरेका थिए ।
अनसनरत विद्यार्थी र नेपाली काँग्रेसका सह–महामन्त्री बद्री पाण्डे र नेविसंघका पूर्व उपाध्यक्ष रत्न कार्की अनसनरत विद्यार्थी भएको ठाउँमा पुगेर उनीहरुले राखेको माग पुरा गर्ने आस्वासन दिएपछि आफुले रिले अनसन तोडेको नेविसंघका नेता मनिष चौहानले जानकारी दिए ।
उनीहरुले पार्टीका जिम्मेवार नेताहरुले गएको स्थानिय तहको निर्वाचनमा विधान संम्बत संसदीय बोर्ड गठन नगरी आर्थिक लेनदेनको आधारमा गैर काँग्रेसलाई टिकट वितरण गर्दा पार्टीले पराजय भोग्नु परेको, पार्टीको १४ औँ जिल्ला अधिवेशन सकिएको २ वर्ष बितिसक्दा पनि महासमिति सदस्य चयन गर्न नसकेको, भातृ संस्थाहरू (नेविसंघ) सहित तरुण दल, महिला संघ, किसान संघ लगायतका संगठनहरुको लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेश तत्काल गराउनु पर्ने, पार्टीलाई गतिशील र ऊर्जाशील बनाउन प्रशिक्षण कार्यक्रमहरू वडा तहसम्म लानुपर्ने माग राखेर अनसनमा बसेका थिए ।