डुुङ्गा प्रतियोगीताकाे प्रथम पुरस्कार सुनसरीले लग्यो

रामेछाप । मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी नदीमा आयोजना गरिएको दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) प्रतियोगिताको प्रथम पुरस्कार सुनसरी ‘के’ ले हात पारेको छ ।

डबलतर्फको डुुङ्गा दौड प्रतियोगीतामा सुनसरीले ‘के’ ले २ मिनेट ३२ सेकेण्डमा नदी पार गरी प्रथम पुरस्कार जित्न सफल भएको हो । सोही डबलतर्फ को खेलमा रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथबेले २ मिनेट ३६ सेकेण्डमा दुरी पूरा गरी द्धितीय पुरस्कार प्राप्त गरेको छ भने सुनसरी ‘बि’ ले २ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरी सिङ्गलतर्फ सुनसरी ‘ए’ ले ३ मिनेट १४ सेकेण्डमा दुरी पूरा गरी प्रथम भएको छ । सिङ्गलतर्फ नै सुनसरी ‘सि’ ३ मिनेट ३२ सेकेण्डमा दुरी पूरा गरी द्धितीय र रामेछापको त्रिवेणी क्लवले ३ मिनेट ३३ सेकेण्डमा निर्धारीत दुरी पूरा गरी तृतीय पुरस्कार प्राप्त गर्न सफल भएका छन् । उक्त प्रतियोगीतामा डबलतर्फ ४ जना र सिङ्गलतर्फ २ जनाको समूह रहेको थियो ।

डबलतर्फ प्रथम हुने समूहले ४० हजार, द्धितीयले ३० हजार र तृतीयले २० हजार नगद र प्रमाण–पत्र हात पार्न सफल भएका छन् । त्यसैगरी सिङ्गलतर्फ प्रथम हुनेले ३० हजार,द्धितीयले २० हजार र तृतीय हुनेले १० हजार नगद र प्रमाण–पत्र हात पार्न सफल भएका छन् । राष्ट्रिय खेलकुद परिषद र मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल माझी उत्थान संघ रामेछाप र न्यू स्टार युवा क्लव मन्थली–६ कुनौरीले उक्त प्रतियोगीताको आयोजना गरेको थियो ।

प्रतियोगितामा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, सर्लाही र सुनसरी जिल्लाका गरी डबलतर्फ ३५ र सिङ्गलतर्फ ३१ गरी ६६ टिम खेलाडीहरुले उक्त प्रतियोगीतामा भाग लिएका थिए । उक्त प्रतियोगितको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदसय सचिव टंकलाल घिसिङले गरेका थिए ।

Scroll to Top