बयानका लागि तयार छुः ट्रम्प

Posted on: January 25, 2018 | views: 163

बीबीसी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि आफू अन्तर्वार्ता दिन तयार रहेको बताएका छन् । उनले न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मलरबाट दुई देखि तीन साताभित्र सोधपुछ हुने अपेक्षा गरेको पनि बताएका छन् ।

ट्रम्पले अनुसन्धानका उच्च अधिकारीबाट गरिने सोधपुछका लागि शपथको मर्यादामा रहेर जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन् । बुधबार पत्रकारहरूसँग ह्वाइट हाउसमा बोल्दै उनले चुनावका बेला कुनै साँठगाँठ र कुनै व्यवधान नभएको बताएका हुन् । 

पत्रकारहरूले सोधपुछ कहिले होला भन्ने प्रश्न गर्दा उनले अनुसन्धान टोलीले दुई वा तीन साता लगाउनसक्ने बताएका छन् । ट्रम्पले चुनावमा आफ्नी प्रतिद्वन्द्वी रहेकी हिलरी क्लिन्टन आफ्नो इमेल प्रयोगबारे संघीय जाँच ब्यूरोले गरेको सोधपुछका लागि तयार नभएको पनि बताए ।

राष्ट्रपतिले संघीय जाँच ब्यूरोका कार्यवहाक निर्देशकलाइ उनले कसलाई मतदान गरे वा गरेनन् भन्नेबारे प्रश्न गरेको कुरा नसम्झने पनि बताए । राष्ट्रपतिले पूर्व निर्देशक जेम्स कोमीलाई गत मे महिनामा बर्खास्त गरेपछि संघीय जाँच ब्यूरोको नेतृत्व गरेका एण्ड्र्यु मक्केबले ट्रम्पको कार्यालायको प्रश्न दिक्क लगाउने खालको भएको बताएका छन् ।

वासिङ्टन पोष्ट पत्रिकाका अनुसार मक्केबले सन् २०१६ को चुनावमा आफूले मतदान नगरेको राष्ट्रपतिलाई बताएका छन् । मलरले कोमीलाई बर्खास्त गरेर न्यायमाथि व्यवधान पुर्याउने कोशिश गरिएको हो कि होइन भनेर अनुसन्धान गर्ने ठानिएको छ ।

यो महिनाको शुरूमा ट्रम्पले आफू सोधपुछका लागि शत प्रतिशत तयार भएको बताएका थिए तर उनलाई मलरले नै सोधपुछ गर्लान् भन्ने चाहिँ ठानिएको थिएन ।

मलरले यसअघि नै महान्यायाधिवक्ता जेफ सेसन्ससँग सम्भावित साँठगाँठबारे सोधपुछ गरिसकेको भन्ने विवरण यो साताको शुरुमा आएको थियो ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com