दोलखा– दोलखाको बैतेश्वर गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेहरूलाई दैनिक रू. २५० खाना खर्च उपलब्ध गराउने भएको छ । विदेश तथा जिल्ला बाहिरबाट आउने स्थानीयलाई गाउँपालिकाले क्वारेन्टाइन अवधि भरका लागि खाना खर्चस्वरूप उक्त रकम उपलब्ध गराउने भएको हो ।
गाउँ कार्यपालिकाको बैठकबाट जिल्लाबाहिर तथा विदेशबाट आउने स्थानीयलाई गाउँपालिकाले प्रत्येक वडामा बनाएको क्वारेन्टाइनमा १४ दिन रहुञ्जेल प्रतिव्यक्ति खाना खर्च बापत दिनको रू. २५० उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष छवी लामाले अभियान दैनिकलाई बताए । विदेशबाट विशेष गरी भारत तथा अन्य जिल्लाबाट बैतेश्वर गाउँपालिका फर्कने मानिसको संख्या बढ्न थालेपछि गाउँपालिकाले सो निर्णय गरेको लामाको भनाइ छ ।
खाना खर्च वापत उपलब्ध गराईने रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिको परिवारलाई उपलब्ध गराइने छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिको परिवारले नै क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खाना उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइएको छ । क्वारेन्टाइनमा बस्नेलाई क्वारेन्टाइन स्थलमै खाना बनाई खुवाउने व्यवस्था मिलाउन नसकिने अवस्था भएकोले उक्त निर्णय गरिएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाभित्र एकै ठाउँमा मात्र क्वारेन्टाइन राख्दा क्वारेन्टाइनबाट टाढा घर भएकाहरूले खाना ल्याउन समस्या हुने भएकोले प्रत्येक वडामा क्वारेन्टाइन बनाइएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।
८ ओटा वडाहरू रहेको बैतेश्वर गाउँपालिकामा प्रत्येक वडामा १०–१० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रत्येक वडामा रहेका माध्यमिक विद्यालयहरूलाई हाल क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ । भवन, खानेपानी, चर्पी, खुल्ला ठाउँ तथा अन्य पूर्वाधार विद्यालय भवनमा पर्याप्त मात्रामा उपलब्ध हुने भएकोले विद्यालयलाई क्वारेन्टाइन बनाइएको उपाध्यक्ष आचार्यको भनाई छ ।
क्वारेन्टाइन राखिएका विद्यालयका कोठाहरूमा क्वारेन्टाइन अवधिपछि सरसफाइ तथा डिसइन्फेक्सन स्प्रे गरिने गाउँपालिकाले बताएको छ ।