‘मलेसिया रोजगार अघोषित रूपमा बन्द हुने अवस्थामा पुगेको छ’

1 0
  • बसन्त कार्की, सञ्चालक, एसकेबी ओभरसिज प्रा.लि.

skb oversease basantaकाठमाडौंको मुलपानीमा जन्मनुभएका बसन्त कार्की सुरुका सरकारी कर्मचारी हुन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएका कार्की उद्योग मन्त्रालयमा सरकारी जागिरे हुनुहुन्थ्यो । सरकारी नोकरीमा न्यून आर्थिक आम्दानी हुने भएकाले पाँच वर्षकै अवधिमा कार्कीले आफै केही गर्ने सोचका साथ जागिरबाट राजिनामा दिई साईवर पेसामा हात हाल्नुभएको थियो । साईवर पेसा हुँदै वि.स. २०६० सालबाट वैदेशिक रोजगार व्यवसायमा प्रवेश गर्नुभएका कार्की हाल एसकेबी ओभरसिज प्रा.लि सञ्चालन गर्दै आउनुभएको छ । मलेसिया रोजगारीमा मात्र कामदार पठाउँदै आएको एसकेबी ओभरसिज पछिल्लो पटक भएको सरकारी निर्णयको शिकार भएको बताउनुहुन्छ सञ्चालक कार्की । गत असार २१ गतेदेखि सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकका लागि लागू गरेको फ्री भिषा फ्री टिकटको निर्णयका कारण त्यसयता मलेसियाबाट कुनै पनि रोजगारको माग नआएको बताउने कार्कीसँग यिनै विषयवस्तुको सेरोफेरोमा रहेर रोजगार वाणी साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंशः–

सरकारले गत असार २१ गतेदेखि लागू गरेको फ्री भिषा फ्री टिकटको व्यवस्थापछि मलेसियाको वैदेशिक रोजगारीको अवस्था कस्तो छ ?
समग्रमा भन्दा स्थिति डामाडोल रहेको छ । जसरी सरकारले डिमाण्ड आउँछ तपाईंहरू नआँत्तिनुस् भनेको थियो । तर, डिमाण्ड आउन सकेको छैन । सरकारले रोजगारदाता मुलुकसँग समन्वय नै नगरी नेपालमा निर्णय गरेपछि उनीहरू पनि रुष्ट बनेको हामी पाउँछौं । २१ गतेपछि जुन निर्णय नेपालमा लागू भयो त्यसको जानकारी दिँदा उनीहरू पटक्कै सकरात्मक छैनन् । उनीहरू कसैले पनि नेपाल सरकारको निर्णयअनुसार फ्री भिषा र फ्री टिकट पठाउँछौं भनेर मलाई भनेका छैनन् र त्यसपछि डिमाण्डहरू पनि मकहाँ आएका छैनन् । मलाई लाग्छ मलेसियाको मात्र काम गर्ने साथीहरूको म्यानपावरमा पनि सरकारी निर्णयअनुसारको डिमाण्ड आएको छैन होला ।

तर, यतिबेला श्रमराज्यमन्त्रीज्यू आफैं मलेसिया र दक्षिण कोरियाको भ्रमणमा हुनुहुन्छ । मलेसियाको भ्रमणको आधारमा भन्ने हो भने त्यहाँका रोजगारदाता कम्पनीहरू सकरात्मकनै रहेका छन्् भनिएको छ नि ?
खोई कुन रूपमा सकरात्मक भएका हुन् त्यो कुरा हामीलाई थाहा भएन । काम गर्ने हामीले हो मन्त्रीज्यूले होइन । उहाँसँग सकरात्मक जो कम्पनी भएका छन्् तिनले हामीलाई डिमाण्ड पठाइदिए भने मात्रै हामीले विश्वास गर्ने कुरा हो यो । होइन भने उहाँ (मन्त्रीज्यू) लाई दिएको आश्वासनले हाम्रो व्यवसाय चल्दैन । अर्को कुरा मन्त्रीज्यूकै भ्रमण नै विवादमा रहेको हाम्रो ठम्याई रहेको बखतमा भएको भ्रमणबाट जेजस्तो उपलब्धी भएपनि हामी व्यवसायीहरूले मान्ने स्थिति छैन । मेरो आफ्नोमात्र विश्लेषणको कुरा गर्नुहुन्छ भने उहाँको यो भ्रमण नै गलत छ । किनभने मन्त्रीज्यू यो देशको एक्लो बादशाहझैं गरेर मुलुकको प्रचलित व्यवस्थालाईसमेत लत्याएर गरिएको यो भ्रमण पूर्णतः गलत छ । रोजगारदाता मुलुकहरूको भ्रमण गर्दा जुन किसिमको एजेन्डा तयार गरिनुपथ्र्यो त्यो गरिएको छैन, मन्त्रीको भ्रमण मन्त्रीपरिषद्मा जानकारी छैन, सरकारी भ्रमणहरूमा सकेसम्म सानो टोली हुनुपर्नेमा जम्बो टोली बनाउनुभएको छ । यसबाट पनि उहाँको भ्रमण सही छैन वा नियतमा खोट छ भन्ने पुष्टि भइरहेको छ ।

नेपाली व्यवसायी र नेपाली कामदारको हितका लागि गरिएको यो भ्रमणमा तपाईंहरूको किन अब्जेक्सन ?
एउटा कुरा लेखेर राख्नुस् मन्त्रीज्यूको मलेसिया भ्रमण न व्यवसायीको हितमा छ न त कामदारको हितमा । उहाँको निश्चित स्वार्थ पूरा गर्न मात्र यो भ्रमण भएको छ । यदि कामदारको हितका लागि हो भन्नुहुन्छ भने कामदारकै हितका लागि कामदारले नै जम्मा गरेको कल्याणकारी कोषको रकम किन दुरूपयोग गरिएको छ ? व्यवसायीको हितका लागि कुरा गर्नुहुन्छ भने उहाँ मलेसियामा फ्री भिषा, फ्री टिकटको विषयमा ब्रिफिङ गर्न जानुभएकै होइन । किनभने मलेसियामा रोजगारदाताहरूले हामीसँग छलफलनै नगरी किन यस्तो निर्णय गर्नुभयो भनेर प्रश्न गर्दा मन्त्रीज्यू र राजदूतले अब हामीले निर्णय गरिसक्यौं, मान्ने भए यो निर्णय मान्नुस् होइन भने यहाँ कार्यरत कामदार पनि फिर्ता लैजान्छौं भनेर भन्नुभएको समाचारहरू हामीले पढेका छौं । यसले गर्दा नेपालप्रति मलेसियाको दृष्टिकोण अब नकरात्मक बनेको छ भने अर्कोतिर मलेसियाले अर्को विकल्प खोज्न बाध्य बन्नुपर्ने स्थिति सिर्जना भएको छ । मन्त्रीज्यूको भूमिकालाई हेर्दा तिनै बंगालीहरूलाई मलेसियाको रोजगारी खुला गर्ने सहज वातावरण निर्माणमा लागेका देखिन्छ । यसरी नेपालीको रोजगारी भड्काउन जानुभएका मन्त्रीज्यूको भ्रमण हामीलाई मान्य हुँदैन । हामीले घुर्की लगाएको भरमा मलेसियाले नेपाली कामदार नै रोज्छ भन्ने कुरामा हामीलाई विश्वास लागेको छैन ।

रोजगारदाता कम्पनीले के भन्छन् र कस्तो प्रतिक्रिया दिन्छन् व्यवसायी स्वयम्ले त्यहाँका सरकारी प्रतिनिधि र नेपाल सरकारको बीचमा सुन्ने र बुझ्ने मौका त व्यवसायीलाई पनि दिइएको थियो । तर, तपाईंका व्यवसायी नेताले बहिष्कार गरे नि किन होला ?
कार्यदल एउटा भ्रमण दल अर्कै भएपछि हामीले बहिष्कार गर्न बाध्य भएका हौं । आन्दोलनरत व्यवसायी र मन्त्रालयबीच गत साउन ९ गते शनिबार भएको ३१ बुँदे सहमतिअनुसार निर्माण भएको कार्यदलले यो भ्रमण गर्नुपर्ने थियो । उक्त कार्यदलमा मन्त्रीज्यूले भ्रमण गर्ने भनेर लेखिएको छैन । तथापी पनि संघका नेता साथीहरू जाने तयारीमा हुनुहन्थ्यो । तर, मन्त्रीज्यूले फ्री भिषा र फ्री टिकटको विषयमा ठोस एजेन्डा नै नबनाएको र ढिलो गरी सूचना दिनुभएकोले जान नसकिएको हो । अहिले जतिपनि व्यवसायीहरू मलेसिया पुग्नुभएको छ, उहाँहरू सबै मन्त्रीलाई नै सहयोग गर्ने व्यवसायीहरू हुनुहुन्छ । उहाँहरू यो फ्री भिषा र फ्री टिकटको निर्णय सफल रूपमा कार्यान्वयन गर्नुभन्दा पनि कसरी हुन्छ विभिन्न बखेडा झिकेर बिगार्ने तथा नेपाल र नेपाली कामदारप्रति गलत ‘इम्प्रेसन’ पार्ने खेलमा लाग्नुभएको प्रष्टै बुझिन्छ ।

basanta


– असार २१ पछि मलेसियाबाट कुनैपनि डिमाण्डहरू मकहाँ आएका छैनन् ।
– उहाँ (मन्त्रीज्यू) लाई दिएको आश्वासनले हाम्रो व्यवसाय चल्दैन ।
– रोजगारदाता मुलुकहरूको भ्रमण गर्दा जुन किसिमको एजेन्डा तयार गरिनुपथ्र्यो त्यो गरिएको छैन ।
– मन्त्रीज्यूको मलेसिया भ्रमण न व्यवसायीको हितमा छ न त कामदारको हितमा ।
– मन्त्रीज्यूको निर्णयका कारण मलेसियाले अर्को विकल्प खोज्न बाध्य बन्नुपर्ने स्थिति सिर्जना भएको छ ।
– हामीले घुर्की लगाएको भरमा मलेसियाले नेपाली कामदार नै रोज्छ भन्ने कुरामा हामीलाई विश्वास लागेको छैन ।


सरकारी स्तरको भ्रमण टोलीलाई व्यवसायीले बहिष्कार गर्दा कतै व्यवसायी नै चुके कि ?
व्यवसायी कहीँ पनि चुकेको छैन । पहिलो कुरा त सरकारले हामीमाथि जबरजस्त लादेको नियम हामी मान्दैनौं भनिरहेकै छौँ । त्यसमा पनि एउटा वार्ता र प्रक्रियामार्फत लागू गरौं र यसलाई सफल बनाऔं भनेर व्यवसायीले समेत सहयोग गर्ने स्थितिमा पुगेको अवस्थामा मन्त्रीज्यू आफै गलत काम गरिरहनुभएको छ र उहाँले फ्री भिषा फ्री टिकट नेपालका लागि सफल गराउनु भन्दा पनि बंगलादेशीलाई मलेसियाको रोजगारी दिलाउनुमै केन्द्रित भइरहनुभएको छ । यस्तो अवस्थामा व्यवसायीले उहाँको भ्रमणलाई सहयोग गरेर केही अर्थ नरहने हुँदा बहिष्कार गरिएको हो । यसबाट व्यवसायी कत्तिपनि चुकेका छैनन् । यदि सहमतिअनुसार बनेको कार्यदल र त्यसले गर्ने औपचारिक भ्रमण भएको अवस्थामा बहिष्कार गरिएको भए चुक्न पनि सकिन्थ्यो । तर, अहिले मन्त्रीज्यूको हनुमान भएर गएर केही अर्थ राख्दैन ।

उल्लेख्य मात्रामा नेपाली व्यवसायी, पत्रकार, रोजगारदाता कम्पनीका प्रतिनिधिलगायतका दुवै देशका सरकारी अधिकारीहरू सम्मिलित फोरमबाट रोजगारी भड्काउने कुरा गर्न सम्भव हुने विषय हो र ?
जतिपनि व्यवसायी मलेसिया पुग्नुभएको छ, उहाँहरू सबै मन्त्रीका सहयोगी व्यवसायी मात्र हुनुहुन्छ । यदि सबै व्यवसायीहरूलाई भनिन्थ्यो र लगिन्थ्यो भने हामी मलेसियाको मात्रै रोजगारी गर्ने व्यवसायीलाई खै कसले सम्बोधन ग¥यो यहाँ । त्यहाँ जतिपनि व्यवसायीहरू पुग्नुभएको छ, उहाँहरू सबै आ–आफ्नो तवरले पुग्नुभएको हो । त्यहाँ पुग्नुभएका संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बु र बलबहादुर तामाङहरूलाई कुनै कुरै राख्न दिइएन भन्ने पनि हामीले सुनेका छौं । अझ अर्को दुःख लाग्दो कुरा त त्यहाँका रोजगारदाता कम्पनीका प्रतिनिधिहरूले हाम्रो मन्त्रीज्यू बोलिरहनुहभएको बेलामा पनि माइक नै खोसेर विभिन्न प्रकारका गालीगलौज गरिएको सुनिएको छ । उनीहरूले गाली गर्न थालेपछि मन्त्रीज्यू र राजदूत लगायतका नेपाल सरकारका प्रतिनिधिहरू कार्यक्रम समापन नै नगरी बाहिरिनुभएको पनि हामीले सुनेका छौं । यदि यस्तो कुराको समाचार साँच्चो हो भने यो भन्दा बढी अपमानको विषय के हुन सक्छ, अब पनि नेपाली कामदार नै मलेसियाले लैजान्छ भनेर कसरी विश्वास गर्ने र हामीले ।

मलेसिया मा नेपाली कामदारको चाप उच्च भएको र त्यहीँ धेरै समस्या आएको कारणले गर्दा सकेसम्म त्यहाँको रोजगारी नै बन्द गर्ने त सरकारले नै भनिरहेको छ भनेपछि अझै तपाईंहरूले के आशा गरिरहनुभएको छ, मलेसियाबाट ?
हामीलाई धेरै ठूलो आशा भन्दा पनि वा कामदारले दुःख पाए वा समस्या भयो भन्दा पनि वैदेशिक रोजगारीको क्षेत्रभित्र छिरेको माफियाहरूका कारण आज नेपालीहरूका लागि मलेसियाको रोजगारी विस्तारै गुम्दैछ । त्यो केवल नेपाल सरकारको निती मात्र होइन, यहाँ विभिन्न स्वार्थहरू पनि छन्् । राम्रो नियतले बरु बन्द गरेको भए हुन्थ्यो । बिडम्वनाको कुरा त नेपालबाट कामदार लैजाने प्रणालीमा विवाद झिकेर बंगलादेशी कामदारलाई मलेसियाको रोजगारी खुलाउने प्रपञ्च मन्त्रीबाटै भएकोले हामीलाई बढी दुःख लागेको हो । मेरो विचारमा त नेपाली कामदारलाई मलेसियामा रोक लगाउन बंगलादेशीको योजना हो भन्ने लाग्छ, त्यसमा हाम्रो मन्त्रीको सहयोग छ । त्यसैलाई सफल बनाउन नेपालकासहित विभिन्न तत्वहरू लागि परेका छन् ।

तपाईंका विचार पुष्टि होला नहोला पछिको कुरा भयो । तर, यहाँ स्वदेशी तथा विदेशी एजेन्टले अशुल्ने चर्को रकम कम गर्न र खराब रोजगारदाता कम्पनीमा कामदार नपठाउने आधारमा गरिएको निर्णय वास्तवमा गलत त होइन होला नि ?
निर्णय आफैमा राम्रो हो, यसको स्वागत पनि हामी व्यवसायीले गरेकै हौं । तर, यसभित्र लुकेका विभिन्न स्वार्थहरूको मात्र हामीले विरोध गरिरहेका हौं । जहाँसम्म एजेन्टहरूले खाने रकम कम गरियो भनिएको छ, यसपछि पनि धेरै समस्याहरू आउनसक्ने सम्भावना मैले देखेको छु । अहिलेसम्म पैसा खाएअनुसार इमानदार ढंगले काम गर्दै आएका त्यहाँका म्यानपावर एजेन्सीहरूले अब त्यसरी काम गर्दैनन् । पैसा तिरेर ल्याएको कामदारलाई कम्पनीले पनि त्यत्तिकै छोड्दैन । कोही कामदारलाई इमरजेन्सी घर फर्कनुपर्ने भयो भने मध्यस्थकर्ता कसले गरिदिने ? पैसा नलिएपछि त त्यहाँको एजेन्सीले हाम्रा कामदारको पक्षमा कुनै लविङ गर्न सक्दैन । ‘इभन’ हामीलेसमेत केही कुरै बोल्न सक्दैनौँ । यस्तो अवस्थामा हाम्रा कामदार मरणासन्न हुनञ्जेल पनि काम गरिरहनुपर्ने बाध्यता सिर्जना हुन सक्ने सम्भावना देखिएको छ । कतिपय कामदारहरू विदेश पुगेपछि होमसिक भएर कामै गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन्् । तिनीहरूलाई घर फर्काउन सहजै सकिदैन । यस्तो कामदारको जिम्मा कसले लिने ? अर्को कुरा ठूलो कम्पनीमा पठाउँदा फ्री भिषा र फ्री टिकट आउने सानो कम्पनीमा पठाउँदा नआउने भन्ने कुरा सबैको भ्रम हो । अझ ठूलै कम्पनी चाहिँ यो निर्णयबाट पीडित बन्छन्् र उनीहरूले लाखौं रूपैयाँ खर्चेर कामदार लैजाने स्थिति रहँदैन ।

त्यसो भएका नेपाली कामदारका लागि आर्थिक भार नपर्ने सुलभ उपाय के हुन सक्छ त तपाईंको विचारमा ?
वैदेशिक रोजगारमा जाने कामदारका लागि आर्थिक भार परेको कुरा हामी स्वीकार गर्छौं । तर, त्यसको दोष हामी मात्रै लिन भने सक्दैनौँ । यो मुलुकमा राज्य छ, ऐन, कानून् छ भने त्यसले नियन्त्रण गर्नुपर्ने मुल आवश्यकता हो । कामदारलाई परेको आर्थिक भार घटाउन एकैचोटी फ्री भिषा, फ्री टिकटको सुनौलो नाराभन्दा पनि यहीँ हुने कमी कमजोरीहरूलाई सुधार्नु पर्दछ । अहिलेको सन्दर्भमा कुरा गर्दापनि कामदारको टिकट, भीएलएन शुल्क, भीषा स्टाम्पिङ र कल्याणकारी कोषलगायतको शुल्क कामदारले जसरी पनि व्यहोर्नु परिहाल्छ । खर्च घटाउने सबैभन्दा राम्रो उपाय भनेकै सव–एजेन्टको कुशल व्यवस्थापन हो । विभिन्न चरणका सव–एजेन्टहरूले हाम्रो कार्यालयसम्म आईपुग्दा नै हजारौँ रूपैयाँ असुलिसकेका हुन्छन्् । यही शुल्कका कारण हाम्रा विदेसिने दाजुभाई दिदीबहिनीहरूलाई अनावश्यक भार परिरहेको मैले महसुश गरिरहेको छु ।

basanta karki– फ्री भिषा र फ्री टिकटको निर्णय सफल रूपमा कार्यान्वयन गर्नुभन्दा पनि कसरी हुन्छ विभिन्न बखेडा झिकेर बिगार्ने तथा नेपाल र नेपाली कामदारप्रति गलत ‘इम्प्रेसन’ पार्ने खेलमा मन्त्री नै लागेको छन् ।
– दुःख लाग्दो कुरा त त्यहाँका रोजगारदाता कम्पनीका प्रतिनिधिहरूले हाम्रो मन्त्रीज्यू बोलिरहनुहभएको बेलामा पनि माइक नै खोसेर विभिन्न प्रकारका गालीगलौज गरिएको सुनिएको छ ।
– नेपाली कामदारलाई मलेसियामा रोक लगाउन बंगलादेशीको योजना हो भन्ने लाग्छ, त्यसमा हाम्रो मन्त्रीको सहयोग छ ।
– ठूलो कम्पनीमा पठाउँदा फ्री भिषा र फ्री टिकट आउने सानो कम्पनीमा पठाउँदा नआउने भन्ने कुरा सबैको भ्रम हो ।
– कामदारलाई परेको आर्थिक भार घटाउन एकैचोटी फ्री भिषा, फ्री टिकटको सुनौलो नाराभन्दा पनि यहीँ हुने कमी कमजोरीहरूलाई सुधार्नु पर्दछ ।
– विभिन्न चरणका सव–एजेन्टहरूले हाम्रो कार्यालयसम्म आईपुग्दा नै हजारौँ रूपैयाँ असुलिसकेका हुन्छन् ।
– कन्सट्रक्सन लेवर, कृषि, सप्लायर र प्लान्टेशनको काममा ज्यादै दुःख र पीडा छ, यि क्षेत्रमा कामदार पठाउनु हुँदैन ।
– सरकारले नै पेसाबाट हात धोऊ भन्छ भने हाम्रो विकल्प नै के रहन्छ र ।

एजेन्ट व्यवस्थापन गर्दा घटाउनुपर्ने हुन्छ, त्यसो हुँदा म्यानपावरसम्म आइपुग्ने युवाहरूको संख्यामा कमी आउनुका साथै विदेसिने त यसैपनि घट्छन् नि होइन ?
यस्तो समस्या न्यूनीकरण गर्न सरकारले कामदारसम्म पुग्नेगरी चेतनामुलक जानकारी दिने, घरबाट निस्केपछि सिधै म्यानपावर कम्पनीसम्म आईपुग्ने अवस्था सिर्जना गर्ने र कसैले अनावश्यक रकम लिए वा दिएको थाहा पाए वा उजुरी परेमा कडा कारवाही गर्नेलगायतका काममा सरकार र मातहतका कार्यालयहरूले गर्नुपर्दछ । यहाँ त तराईको कुनै जिल्लाबाट विदेसिने एकजना कामदारले उसको सव–एजेन्टलाई हामीकहाँ आईपुग्नुअगावै ५० हजारभन्दा माथि रकम बुझाईसकेको हुन्छ । त्यसमाथि तोकिएको एजेन्ट र कार्यालय सेवाशुल्क लिँदा ६०–७० हजारको हाराहारीमा पुगिसकेको हुन्छ । त्यसपछि स्वास्थ्य परीक्षण, अभिमुखीकरण, भिषा स्टाम्पिङ, हवाई टिकट र कल्याणकारी कोष तथा बीमा गर्दासम्म उसको लागत खर्च कहाँ पुगेको छ, यसतर्फ सरकारको ध्यान कहिल्यै पुगेको छ ?

तपाईंहरूले पठाएका युवाले दुःख नपाउने उपाय चाहिँ के हुन सक्छ ?
मेरो विचारमा हामीले वैदेशिक रोजगारमा कामदार पठाउँदा चारओटा सेक्टरमा कामदार पठाउन हुँदैन । सबैभन्दा बढी कन्स्ट्रक्सन लेवर, कृषि, सप्लायर र प्लान्टेशनको काममा ज्यादै दुःख र पीडा छ । महङ्गो ब्याजमा ऋण काढेर राम्रो काम गर्न विदेश पुगेका युवाहरूलाई ५० डिग्रीको तापक्रममा काम गर्न लगाइन्छ । यसको सट्टा फ्याक्ट्री, क्लिनिङ कम्पनी, सुपरमार्केट, होटेलजस्ता ‘इनडोर’ कामका लागि कामदार पठाउँदा युवायुवतीको पीडा कम हुन सक्दछ । अहिले पनि यस्ता डिमाण्डहरू अधिकतम आइरहेका छन् । त्यसलाई हामीले सदुपयोग गर्नुपर्दछ । साउदी–कतारमा ठूला घर बनेनन् भनेर नेपाली कामदारलाई दौडाउनु उपयुक्त होइन । उल्लेखखित चार सेक्टरमा न्यूनीकरण गर्ने हो भने यो क्षेत्रका समस्याहरू विस्तारै समाधान हुँदै जानेछन् ।

हामीले सुख सुखको काम मात्रै खोज्दा रोजगारदाताले डिमाण्ड दिन्छन् त ?
फ्री भिषा फ्री टिकटकै निर्णयमा जाने हो भने त तपाईंले भनेजस्तो यो कुरा सम्भावनाबाट टाढिएको छ । होइन भने हिँजोको प्रक्रियाको कुरा गर्दा यो कुरा सम्भव छ । हामीले अहिले भिषाको शुल्क भनेर जुन रकमलाई मानिरहेका छौं त्यो त्यहाँको रिक्रुटमेन्ट एजेन्सीलाई दिइने सेवा शुल्क हो । हामीबाट लिएको सेवा शुल्कअनुसार काम गर्दा त हामीले मागेअनुसारको डिमाण्ड दिनुपरिहाल्यो नि । अथवा उक्त कम्पनीले हाम्रो कामदारको जिम्मा लिनुपर्छ । हामीले पैसा दिएपछि छानी छानी भिषा ल्याउन पाउनुप¥यो ।

अन्तमा, सरकारको निर्णयपछि काम गर्न नसक्ने यो स्थितिमा अन्य केही योजना बनाउनुभएको छ ?
सरकारले घोषित होइन अघोषित रूपमा वैदेशिक रोजगार व्यवसाय बन्द गराउने घोषणा गरेको मैले बुझेको छु । घोषित रूपमा बन्द गर्दा अरु धेरै कुरा हुने डरले उहाँले यस्तो निर्णय लिएको मैले बुझेको छु । हामी व्यवसायीले जान्ने हो भने वैदेशिक रोजारको विकल्पमा पनि मुलुकमा काम गर्न सकिन्छ भन्ने सन्देश दिन संयुक्त रूपमा हाम्रा लाईसेन्स र कार्यालयको चावी सुम्पनुपर्दथ्यो । यो गर्न सकिरहेका छैनौं । अब हामी व्यवसायीले व्यक्तिगत रूपमा नै केही न केही सोच्नुपर्ने स्थिति आएको छ । मेरो सन्दर्भमा कुरा गर्दा आउँदो दसैंसम्म यो व्यवसायलाई ‘वेट एन्ड सि’ को अवस्थामा छु । यदि यस पेसामा रहन सकिएन भने अब चाहिँ पूर्ण रूपमा रिटायर लाईफ बिताउनुपर्ला भन्ने सोचिरहेको छु । सरकारले नै पेसाबाट हात धोऊ भन्छ भने हाम्रो विकल्प नै के रहन्छ र ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.