वैदेशिक रोजगार नेपालीका लागि प्रथम नभई अन्तिम रोजाईको विषय बनोस्

0 0
  •  मञ्जु गुरुङ, अध्यक्ष, पौरखी नेपाल

स्वदेशमा रोजगारीको वातावरण नभएपछि वैदेशिक रोजगारीको खोजी गर्दै दैनिक १५ सयको हाराहारीमा युवायुवतीहरू विदेसिइरहेका हुन्छन् । विदेसिएकामध्ये सबैले पैसा कमाएर सफल रूपमै फर्किन पाएका छैनन् । विदेसिनु अगाडि आवश्यक जानकारी नलिनाले विदेश पुगेर विभिन्न समस्याहरूको सामना गर्नुपरिरहेको हुन्छ । जुन समस्या अन्य स्रोत मुलुकहरूको तुलनामा नेपाल कम छैन । विदेश पुगेर ठगिने, दुःख पाउने र अलपत्र पर्नेदेखि आर्थिक, सामाजिक र मानसिक रूपमा समेत मानिसहरू विचलित भएर नेपाल फर्किरहेका हुन्छन् । अझ कतिपयले उतै आफ्नो ज्यान गुमाउन समेत बाध्य भइरहेका हुन्छन् । प्रस्तुत छ, यिनै विषय वस्तुहरूको सेरोफेरोमा रहेर विदेशमा दुःख पाएर फर्किने नेपालीहरूको पक्षमा काम गर्दै आएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङसँग रोजगार वाणी साप्ताहिकका सम्पादक हेमन्त शंकर आचार्य र ज्योति जि.सीले गरेको कुराकानीः–

मञ्जु गुरुङ, अध्यक्ष, पौरखी नेपाल
मञ्जु गुरुङ, अध्यक्ष, पौरखी नेपाल

पौरखी नेपाल कस्तो संस्था हो ?
वैदेशिक रोजगारमा गएर फर्केर आएका महिला कामदारहरूको संस्था पौरखी नेपाल हो । यो ऐतिहासिक संस्था सन् २००३ मा विदेश गएर फर्केका महिलाहरूकै विशेष पहलमा स्थापना भएको हो ।

वैदेशिक रोजगारबाट फर्केर आएका महिलाहरूका लागि यो संस्थाको आवश्यकता किन प¥यो ?
वैदेशिक रोजगारीबाट फर्केका हामी महिलाहरूलाई यो समाजले हेर्ने दृष्टिकोण फरक छ, अहिले पनि र त्यो बेला झन् बढी थियो । विदेशबाट काम गरेर पैसा बोकेर फर्किएका महिलाहरूलाई नेपाली समाजले अत्यन्तै नकरात्मक दृष्टिले हेर्ने परिपाटीको अन्त्यका लागि यो संस्थाको आवश्यकता परेको हो ।

महिलालाई हेर्ने फरक दृष्टिकोण कस्तो हो र ?
महिलालाई हेर्ने दृष्टिकोण मात्र होइन विदेशमा काम गर्न गएकाहरूको अधिकारका लागि समेत पौरखी नेपाल लडिरहेको छ । विदेश जाने कामदारहरूमा अनविज्ञताका कारण उनीहरूले प्राप्त गर्ने अधिकारको सुनिश्चितता नभएको, त्यसमा पनि महिलाहरूका हकमा उनीहरूको अवस्था भयावह भएको, महिला भएकै कारणले राज्यबाट वञ्चितीकरणमा परिरहेको, शिक्षा, स्वास्थ्य र सूचनाबाट धेरै टाढा रहेका महिलाहरू आर्थिक र समाजिक दृष्टिले समेत पछि परेको छ । जसका कारण उनीहरूमा चेतनास्तर कमी छ । जसले गर्दा उनीहरूले अहिले पनि आफ्नो अधिकार राज्यसँग दाबी गर्न सकिरहेका छैनन् ।

वैदेशिक रोजगारीमा गएर फर्केका कामदारहरूको संस्था भन्नुभयो, स्वयम् तपाईं चाहिँ कामदार हो कि होइन ?
बकैदा रूपमा म कामदार हुँ । म कामदार भएकै कारणले ममा यस किसिमको भावना जागृत भएको हो र आज पौरखी नेपालको नामले मलाई चिन्नुभएको छ, तपाईंहरूले । तर म त्यतिबेला पनि ग्राजुएशन गरेकी महिला कामदार थिएँ । यद्यपि घरबाट निस्केदेखि नै मैले पनि विभिन्न खालको हन्डरहरू खानुप¥यो । महिला भएकै कारण म पनि विभिन्न विभेदको शिकार बन्न बाध्य भएकी थिएँ । त्यसले गर्दा मलाई पीडा भयो र महिलाहरूले किन यसरी पीडाको सामना गर्नुपर्छ भन्ने प्रश्न ममा खडा भयो । त्यसपछि म विदेशबाट फर्किएँ । आफ्नो अध्ययनलाई पुनः निरन्तरता दिएर समाजशास्त्रमा स्नातकोत्तर गरेँ ।

‘पौरखी नेपाल’ को अवधारणा कहाँबाट आयो र कसरी बन्यो यो संस्था ?
फर्केर आएका महिला कामदारहरूको लागि एउटा संस्था स्थापना गर्ने सोच मेरो दिमागमा घुमिरहेको बेलामा तत्कालिन समयमा डा. गणेश गुरुङसँगको भेटघाट र उहाँको प्रेरणाबाट पनि यो संस्था स्थापनाको सम्भव भएको हो । उहाँले त्यो बेला वैदेशिक रोजगार सम्बन्धी विभिन्न अध्ययन र अनुसन्धान गर्नुभएको थियो । उहाँले गर्ने विभिन्न कार्यशाला गोष्ठिहरूमा हामीलाई लैजानुहुन्थ्यो र आफ्नो विदेश भोगाइका अनुभवहरू सुनाइदिन अनुरोध गर्नुहुन्थ्यो । तर, उहाँले जति बोलाए पनि शुरु शुरुमा त हामी गएनौं । आफ्नो समस्या र भोगाई बताएर समाजलाई किन हँसाउने भन्ने विचार ममा पनि थियो । तर पनि उहाँले धेरै अनुरोध गरेपछि हामी विस्तारै त्यस्ता कार्यक्रमहरूमा जान थाल्यौं र त्यहाँ जाँदा विषयवस्तुबारे धेरै ज्ञान ममा थपिदै गयो । त्यसपछि मात्र यो विषयमा आवाज उठाउनुपर्ने र आवाज नउठाएसम्म अधिकार नपाईने कुराको अनुभूती भएपछि विदेशमा गएर फर्केकाहरूको एउटा संस्था खोल्नुप¥यो भन्ने कुराको अवधारणा आएको हो ।

संस्था स्थापनाको समयमा सहजता या जटिलता कस्तो रह्यो त ?
निकै गाह्रो भयो संस्था बनाउन हामीलाई । संस्थाका लागि आवश्यक पर्ने ७ वटा नागरिकता कलेक्सन गर्न हामीलाई निकै धौ–धौ परेको थियो । समाजको डरले कसैले पनि उनीहरूको भोगाई बाहिर ल्याउन चाहदैनथे । बल्ल तल्ल नागरिकता त जम्मा गरियो फेरि कानूनी झन्झटको सामना गर्नुप¥यो । त्यतिबेला यो संस्थाको वैधानिक स्थापनाका लागि संस्थापक अध्यक्ष कृष्ण गुरुङले धेरै दुःख गर्नुभएको छ । प्रशासनिक दाउपेच नजान्ने र आफ्नो मान्छे नभएका कारणले पनि हामीले धेरै चुनौतिहरू त्यतिबेला भोगेका थियौं । त्यसमा पनि मुख्य गरेर वैदेशिक रोजगार ऐन २०४२ नै बाधक भयो । उक्त ऐनको दफा १२ मा महिला तथा बालबालिकालाई वैदेशिक रोजगारीमा बञ्चित गरिएको रहेछ । महिला र बालबालिकालाई एउटै स्तरमा राखेर व्याख्या गरिएको उक्त ऐनले हामीले परिकल्पना गरेको संस्था स्थापना गर्न नमिल्ने भएपछि नयाँ नीति निर्माणको लागि हामीले विभिन्न एड्भोकेसी ग¥यौं र सन् २००७ मा आएर नयाँ वैदेशिक रोजगार ऐन ल्याउन सफल भयौं । प्रगतिशील मानिएको उक्त ऐनको दफा ८ मा लिङ्गको आधारमा कुनै पनि कामदारलाई विभेद नगर्ने उल्लेख गरिएको भएपनि त्यो कुरा आजसम्म प्रभावकारी कार्यान्वयनमा आएको छैन । लडाई जारी छ ।

संस्था स्थापना पछिको अवस्था कस्तो रह्यो ?
संस्था स्थापनापछि पनि विभिन्न समस्याहरू आए । विदेशमा अलपत्र परेको, दलालले ठगेको लगायतका वैदेशिक रोजगारका समस्या समाधानका लागि हामीले सेवामूलक सामाजिक कामको महशूस ग¥यौं । विभिन्न अध्ययन र अनुसन्धानहरूले पनि वैदेशिक रोजगारमा जाने कामदारहरू सूचना बोकेर जाने र समस्यामा परेर फर्किने देखाइरहेको अवस्थामा तत्कालिन समयमा (सन् २००३) मा सूचना प्रवाहको प्रभावकारिता थिएन । त्यसलाई मध्येनजर गर्दै हामीले रेडियो कार्यक्रम ‘पौरखी’को शुरुवात ग¥यौं । त्यो कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने, ध्यान दिनुपर्ने, गर्न हुने÷नहुने काम लगायतका बारेमा जानकारी दिने ग¥यौं । त्यससँगै हामीले विदेश गएर सफल भएर फर्किएका र दुःख पाएर फर्किएकाहरूको अनुभव पनि रेडियो कार्यक्रम मार्फत आम जनमानसमा पु¥याउने काम ग¥यौं ।

रेडियो कार्यक्रम सुनेर त झन समस्या आएको पनि भनिन्छ नि ?
हो रेडियो कार्यक्रम सुनेर पनि समस्याहरू आए र सँगसँगै विषयवस्तुहरूको उजागर पनि भइरहेका थिए । मानिसहरूले समस्याबाट निकासको बाटो खोज्न थालेका थिए । हरेक राम्रा कामका पछाडि केही नराम्रो पनि हुन्छ भनेजस्तै भयो र कामदारमा न्यायको पहुँच नभएको हामीले पायौं । त्यसका लागि ५० जना साथीहरूलाई विभिन्न खालका तालिमहरू दिएर कानूनी शाखा स्थापना ग¥यौं । त्यसबाट सन् २००९ देखि २०१५ सम्म आइपुग्दा करिब १२ सय जना युवायुवतीहरूको ठगीका मुद्दाहरू पनि हेरिसक्यौं ।

कस्ता मुद्दाहरू यहाँ आउँछन् त ?
हामीकहाँ आउने प्राय सबै मुद्दाहरू कानूनी रूपमा कागजपत्र नभएका हुन्छन् र आएका मध्ये करिब ४०–५० प्रतिशत मुद्दाहरू सल्टाइएको छ । त्यसमध्ये कतिपय प्रक्रियामा रहेको, कतिपय कामदार आफंै थकित भएर छाडेको र कतिपय पुनः वैदेशिक रोजगारमा फर्किसकेकाले छिनोफानो हुन बाँकी रहेका छन् ।

विदेशमा अलपत्र वा जोखिममा परेका कामदारहरूलाई प्रारम्भिक रूपमा कसरी सेवा दिइरहनुभएको छ ?
वैदेशिक रोजगारमा गएर दुःख पाएका र जोखिममा परेकाहरूमध्ये जो हाम्रो सम्पर्कमा आउनुहुन्छ उहाँहरूले भाषा तथा अन्य समस्याका कारण जोखिममा परिरहेका हुन्छन् र के गर्नुपर्छ भन्नेसम्मको जानकारी उनीहरूमा देखिदैन । अनि हामीले टेलिफोनमा भन्छौं– ‘पुलिस.. पुलिस’ भनेर चिच्याउ वा एम्बेसी भए ‘नेपाल एम्बेसी’ भन भनेर सुझाव दिन्छौं । कतिपय अवस्थामा ट्याक्सी ड्राइभरसँग पनि हारगुहार गर्नु भनेर सुझाउँछौं । उनीहरूले पनि उद्दार गरिदिने गरेका छन् । यही माध्यमबाट उद्दारसम्म गर्ने गरेका छौं ।

तपाईंहरूले त यहाँ आवासगृह समेत सञ्चालन गर्नुभएको छ, यसको आवश्यकता किन प¥यो ?
हामीले विदेशबाट उद्दार गरेर ल्याएका कतिपय महिला दिदीबहिनीहरू सिधै परिवारको सम्पर्कमा पुग्न सक्दैनन् । कतिपयको मानसिक अवस्था कमजोर वा समस्या भइरहेको हुन्छ । त्यस्ता दिदीबहिनीहरूलाई केही दिन भएपनि सुरक्षित आवासगृहमा राखेर आवश्यक परामर्श दिएर र उनीहरूका परिवारलाई समेत सम्झाएर समाजमा सहजै घुलमिलको वातावरण बनोस् भन्ने उद्देश्यले आवासगृहको आवश्यकता महशूस गरिएको हो । सन् २००९ बाट शुरु भएको आवास गृहलाई सन् २०११ बाट श्रम तथा रोजगार मन्त्रालयले पनि अनुमति दिएको छ । नेपाल सरकार र स्वीस सरकारबीच एमओयु भएको छ । श्रम मन्त्रालयको मातहतमा रही पौरखी नेपालले रन गरिरहेको छ ।
अर्को कुरा हामीले गाउँ–गाउँमा सूचना प्रवाह गर्ने, विदेशबाट फर्केर आएका महिलाहरूलाई सङ्गठित गरेर साथी शिक्षकको रूपमा परिचालन गरिरहेका छौं । एउटा टेबल र कुर्सीबाट सेवा आरम्भ गरेको पौरखीले अहिले १७ भन्दा बढी जिल्लाहरूमा आफ्नो कार्यक्रम सञ्चालन गरिरहेका छौं । गाविस र नगरहरूमा सामुदायिक सचेतना केन्द्रहरू स्थापना गरेर विभिन्न शिक्षा र सूचनामूलक जानकारीहरू दिने गरेका छौं ।

यी सबै काममा सरकारको सहयोग कस्तो छ ?
पहिले–पहिलेको तुलनामा सरकारले अहिले हामीलाई सहयोग नै गरिरहेको छ । त्यसैले अहिले गाविस र नगरस्तरका स्रोत केन्द्रहरू स्थापना गरेर सूचना दिने गरिएको छ । त्यस्तै राहदानी वितरणका लागि दोलखाको चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा सूचना अधिकृत राखेर विभिन्न सूचनाहरू दिने गरिएको छ । जहाँ राहदानी लिन आउनेहरूलाई अनिवार्य गरिएको छ । यदि कसैले सुन्ने समय नै छैन भने पनि सम्पर्क नम्बर भएपनि लिएर जान अनुरोध गर्ने गरिएको छ । जसको कारण पछि समस्या आयो र आवश्यक जानकारी चाहियो भने टेलिफोनबाट पनि लिन सकिनेछ ।

संस्था स्थापना पछिका आरोह अवरोह चाहिँ कस्ता छन् ?
धेरै कुरा त मैले उल्लेख नै गरिसकेँ तर छुटेको कुरा के हो भने पौरखी नेपाल भनेको डलरको खेती गर्ने संस्था हो भन्ने भ्रम मानिसहरूमा परिरहेको छ र त्यसको आरोप हामीमाथि लागिरहेको छ । तर पौरखी नेपालले कोही पनि नेपाली नागरिकलाई विदेश जाउ वा नजाउ कहिल्यै भन्दैन र भनेको पनि छैन । व्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरेर के गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने काममा हाम्रो हस्तक्षेप रहँदैन । यो मामिलामा राज्यको पनि आफ्नो दायित्व होला ।

अनि डलर नआई त संस्था चल्दैन होला नि ?
संस्था सञ्चालनका लागि आर्थिक पक्ष निकै प्रमुख बन्ने गर्दछ । तर जहाँसम्म पौरखीलाई डलरको खेती गर्ने संस्था भनेर चित्रण गरिन्छ यो गलत हो । हामी कार्यसमितिका सबै व्यक्तिहरू वैदेशिक रोजगारबाट फर्किएका हौं । सेवाभावले शुरु गरेको संस्थामा हामी स्वयम्सेवी भएर काम गरिरहेका छौं भने डलरको खेती कहाँबाट हुन्छ ? यो त सबैले बुझ्ने कुरा हो । आफूले राम्रो काम गर्दै गइसकेपछि एक न एक दिन त कसो सबैको आँखा नखुल्ला । बुझ्ने मानिसहरूले त बुझिहाल्नुभएको छ नि । हामी पारदर्शीतामा विश्वास राख्ने मानिस हौं । हाम्रो संस्थामा ‘एक्टर्नल र सोसियल अडिट’ हुन्छ । कुन–कुन डोनरहरूले कति पैसा दिए र तोकिएको कार्यक्रममा उक्त रकम खर्च भएको छ कि छैन भन्ने कुरा बारम्बार अनुगमन भइरहन्छ । यदि कुनै पैसा बचेको खण्डमा पनि अन्य कार्यक्रम गरेर खर्च गर्ने गरेका छौं ।

डोनरहरू खोज्न कत्तिको सजिलो छ ?
चिल्लो कागजमा राम्रो अङ्ग्रेजी अक्षर लेख्नेहरूसँग हामी पूर्व कामदारहरूले प्रतिस्पर्धा गर्नुपरिरहेको छ । यो भन्दा ठूलो समस्या के होला ? हामी मन र भावनाले काम गर्ने व्यक्ति हौं । पछिल्लो समयमा डोनरहरूले पनि प्रस्ताव गर्ने बित्तिकै रकम निकासा गर्दैनन् । अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी भएर पास भएमात्रै पाइन्छ ।

पौरखीले कस्तो–कस्तो चुनौतिको सामना गरिरहेको छ ?
वैदेशिक रोजगारमा गएर पैसा नकमाई फर्केर आएका दिदीबहिनीमध्ये कतिपयले कत्ति पनि पैसा नकमाइ र मानसिक रूपमा बिरामी भएर फर्केको अवस्था छ । यस्तो अवस्थामा उनीहरूको परिवारले सहजै स्वागत गर्ने अवस्था छैन । त्यस्तै बच्चा लिएर र गर्भवती भएर आएका महिलाहरूलाई त झन् स्वीकार गर्ने चेष्टा नै गर्दैन हाम्रो समाज । यो मुख्य चुनौतिको विषय हो । त्यसमा कतिपयले कमाएर पनि ल्याएका छन् तर उचित सदुपयोग हुन सकिरहेका छैन । त्यसका लागि हामीले उद्यमशील तालिम दिएर १४–१५ सय जना महिलाहरूलाई उद्यमी बनाएका छौं । उनीहरूले अहिले मासिक रूपमा ८ हजारदेखि ३० हजारसम्म कमाउने गरेका छन् ।
नेपालको राजनीतिक अस्थिरता र सरकार परिवर्तनसँगै मन्त्रालयका सबै संयन्त्रका व्यक्तिहरू परिवर्तन हुनु अर्को मुख्य चुनौतिको विषय भनिरहेको छ । प्रशासनिक सबै कर्मचारीहरूले सबै विषयको बारेमा जानकारी राख्न सक्दैनन् । एउटा जिम्मेवारी सम्हालेको व्यक्तिलाई त्यस क्षेत्रको बारेमा बल्ल–तल्ल सम्झाई बुझाई विषयवस्तुको समस्या र समाधानको उपायबारे अभ्यस्त बनाइन्छ कार्यान्वयनको बेलामा परिवर्तन भइहाल्छ र समयमै उचित काम हुन सकिरहेको छैन । यो नेपालको आम समस्या हो ।

हामीले भर्खरै (गत शुक्रबार) १६औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाएका छौं । तपाईंहरू कामदारहरूकै हितमा काम गर्ने संस्थाहरूको नजरमा आप्रवासीको अवस्था कस्तो पाउनुहुन्छ ?
विगतको तुलानामा आप्रवासीहरूको अवस्था सुधारोन्मुख छ । तर दिनप्रतिदिन बढिरहेको आप्रवासीको संख्याका तुलानमा समस्याहरू पनि उस्तैगरी बढिरहेको छ । यो एउटा प्रक्रिया हो यसमा शतप्रतिशत नतिजाको अपेक्षा हुँदैन । यद्यपि दिवसकै सन्दर्भमा भन्ने हो भने विगतमा कामदारलाई खासै प्राथमिकता दिइने गरिएको थिएन । तर यो वर्षबाट कामदारलाई अग्रपङ्तिमा राखेर यो दिवस मनाइएको छ । आप्रवासी कामदारको आवाज सुन्ने र सुनाउने मौका दिइएको छ, थोरै नै किन नहोस् सकरात्मक कदम भएको मैले पाएको छु ।

विशेष गरी आप्रवासी महिलाको अवस्थाचाहिँ कस्तो पाउनुभएको छ ?
संस्थागत रूपमा कुरा गर्ने हो भने पौरखीले ८० प्रतिशत महिला र बाँकी पुरुषहरू सदस्यहरू हुनुहुन्छ । सेवा दिने क्रममा महिलालाई भन्दा पुरुषलाई बढी दिएका छौं । पुरुषहरूकै समस्याका फोनकलहरू धेरै हामीलाई आउने गरेका छन् । महिला बढी संवेदनशील भएका कारण महिलाकेन्द्रित सेवालाई प्रधानता ठानेका हौं ।

समस्यामा परेका पुरुषलाई पनि आवासगृहको आवश्यकता प¥यो भने कहाँ जाने ?
पौरखीकै पार्टनरको रूपमा रहेको प्रवासी नेपाली कोअर्डिनेशन कमिटी (पीएनसीसी) ले पुरुषहरूलाई सेल्टर दिने काम गरिरहेको छ ।

उद्दार गर्नुपर्ने व्यक्तिसम्म तपाईंहरू कसरी पुग्नुहुन्छ ?
यो सबैभन्दा चुनौतिको विषय बनेको छ । कतिपय अवस्थामा पीडितहरू विदेशको कुन ठाउँमा आफू रहेको समेत थाहा हुँदैन । टेलिफोनको भरमा उनीहरूलाई उद्दार गर्नुपरिरहेको छ । पहिलो त नेपाल सरकारको कुटनीतिक नियोगसँग हाम्रो सम्पर्क हुन्छ । नेपाली नियोग नभएका ठाउँमा सम्बन्धित मुलुकका स्थानीय सङ्घ संस्था मार्फत र एनआरएनएसँग हाम्रो निरन्तर सम्पर्क भइरहेको हुन्छ । अर्को कुरा पौरखी नेपाल क्षेत्रीयस्तरमा दुईओटा नेटवर्कसँग सम्पर्कमा छ । एउटा क्यारम एसिया क्वालालम्पुर, मलेसियामा केन्द्रिय कार्यालय रहेको छ । जहाँ १७ वटा देशका ३७ वटा संस्थाहरू आबद्ध रहेका छन् । त्यहाँ कामदार पठाउने र लिने राष्ट्रका सङ्घ–संस्थाहरू आबद्ध रहेका हुन्छन् । अर्को एमएफए भन्ने संस्था जुन फिलिपिन्सको मनिलामा केन्द्रिय कार्यालय रहेको छ । यिनै संस्थाहरूसँग कम्युनिकेट गरेर पीडितको उद्दार गर्ने गरेका छौं । र यी संस्थाहरूमध्ये कसैबाट पनि काम नभएको अवस्थामा कामदार आपूर्ति गर्ने म्यानपावर एजेन्सीहरूसँग नै हामीले समन्वयन गर्ने गरेका छौं ।

तर विदेशस्थित सङ्घ संस्थासम्म हाम्रा कामदारहरू पुग्न सक्छन् र ?
सक्दैनन् । यो समस्या पुरुष र महिला दुवैमा देखिएको छ ।

पौरखीले कामदार फर्काउ“दा म्यानपावरहरूले खुब रिस गर्छन होला नि ?
गर्नुहुन्छ । उहाँहरू आफैले अगाडि नपरेपनि असुरक्षित रूपमा मानिसहरू पठाउने र हामीलाई अनावश्यक दबाब दिइरहेका हुन्छन् । हामीलाई कुनै पनि बेलामा कसैले हमला ग¥यो भनेर सुन्नुभयो भने तपाईंहरू अचम्ममा पर्नु पर्दैन ।

अनि महिला कामदार फर्काउँदा उहाँहरूको परिवारबाट कस्तो रेस्पोन्स आउँछ त ?
त्यहाँ मिश्रित रेस्पोन्स हुनेगरेको भएपनि अधिकांश परिवारहरूले हामीलाई नै नकरात्मक रूपमा लिईरहनुभएको हुन्छ । यसको दोष ती परिवारलाई भन्दा पनि हाम्रो संकुचित समाजलाई दिन चाहान्छु । हरेक परिवारले सकेसम्म आफ्ना आफन्त किन र कसरी फर्किएका वा फर्काइएका हुन् त्यसबारेमा पूर्ण जानकारी लिएर मात्रै अगाडि बढ्नुहुन अनुरोध गर्दछु ।

हामीले यति धेरै समस्याहरूको बारेमा कुराकानी ग¥यौं, न्यूनिकरणको उपाय के हुन सक्ला ?
समस्या न्यूनिकरण गर्न ज्वरो आउँदा सिटामोल खाएजस्तो हुँदैन । यहाँ तहगत समस्याहरू छन् । हाम्रो भौगोलिक अवस्थाका कारण शिक्षाको कमी, चेतनाको कमी, हाम्रो पारिवारिक अवस्था, सामाजिक अवस्था र राजनीतिक अवस्थाका कारण समेत यी समस्याहरू आइरहेका छन् । जसलाई शिक्षा र सूचनाले मात्र न्यूनिकरण गर्न सकिन्छ । त्यसैगरी सरकारले विभिन्न तहमा चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने र वैदेशिक रोजगारीको विषयमा पर्याप्त ज्ञान दिलाउने हो भने मलाई लाग्छ केही हदसम्म समस्या न्यूनिकरण भएर जानेछन् । त्यसैगरी सरकारले युवाको व्यवस्थापन गर्नुपर्दछ । नेपालमा अन्य देशका नागरिक आएर काम गर्छन् हाम्रा युवा विदेसिएका छन् । यसको कारण खोज्नुप¥यो । छिमेकी राष्ट्र भारतले रेमिटेन्स आयको सातौं देश नेपाललाई बनाइरहेको छ यस सम्बन्धी पनि सूक्ष्म रूपमा अध्ययन गर्न जरुरी छ ।

नेपाली कामदार विदेश जाने, विदेशी नेपाल आउने किन भएको होला ?
श्रमको सम्मान गर्न नजानेर । जबसम्म मुलुकमा श्रमको सम्मान गर्ने प्रवृत्तिको विकास गरिदैन तबसम्म यो अवस्था यस्तै नै रहन्छ । मैले वैदेशक रोजगारीबाट सिकेको सबैभन्दा ठूलो कुरा नै श्रमको सम्मान गर्नु हो ।

एउटा कामदार ठगिनु वा दुःख पाउनुमा को बढी जिम्मेवार हुन्छ ?
वैदेशिक रोजगारमा हुने कुनैपनि ठगी वा दुःखका घटनाहरू कुनै एक पक्षको मात्रै कमजोरीले हुँदैन । सरकार, एजेन्सी, एजेन्ट र रोजगारदाता उत्तिकै जिम्मेवार हुन्छन् । खाली त्यसमा को कम वा बढी भन्ने मात्रै हुन्छ ।

विदेसिने युवायुवतीदेखि वैदेशिक रोजगारका सम्पूर्ण पक्षलाई के सुझाव दिन चाहानुहुन्छ ?
नेपाभित्र पनि प्रशस्त रोजगारीको सम्भावना छन्, त्यसको खोजी गरिनुप¥यो । वैदेशिक रोजगार नेपालीका लागि प्रथम नभई अन्तिम रोजाईको विषय बनोस् । गर्न चाहेको खण्डमा यहाँ पनि धेरै सम्भावनाहरू छन् सकेसम्म त्यसलाई नै अपनाउने र जानै परेको खण्डमा म आफू कहाँ जाँदैछु, के कामका लागि जाँदैछु, कति आम्दानी हुन्छ, म जाने मुलुकमा नेपाल सरकारको उपस्थिति छ वा छैन, रोजगारीका लागि खुला भएको मुलुक हो वा होइन र त्यो मुलुकमा जाँदा कसरी जाँदैछु भन्ने बारेमा राम्रोसँग जानेर बुझेर मात्रज यात्रा तय गर्न विदेसिने भाइबहिनीहरूलाई आग्रह गर्न चाहान्छु । त्यसैगरी म्यानपावर व्यवसायीहरूले पनि कुन कामका लागि कस्तो र कति योग्यताको युवा फिट हुन्छन् भनेर सोचेर पठाउनु पर्छ । जुन काममा पनि ‘अनस्किल वर्कर’ पठाएर विश्व श्रम बजारमा नराम्रो छाप नपारिदिन आग्रह गर्दछु र सरकारले कानूनी रूपमा समान व्यवहार गर्नुपर्दछ भन्ने मान्यता वा सुझाव मेरो रहेको छ ।

अन्तमा विशेष गरी नेपाली आप्रवासीहरूको श्रम गन्तव्य मुलुकहरूमा मानव अधिकारको अवस्था कस्तो पाउनुभएको छ ?
सबै श्रमगन्तव्य मुलुकहरूमा एकै प्रकारको मानव अधिकारको अवस्था छैन । जस्तो मानव अधिकारको सवालमा इजरायल जस्तो उपयुक्त श्रम गन्तव्य कुनै पनि छैन । त्यहाँ नेपालमा उपभोग नगरेको मानवअधिकार पाइरहेका हुन्छन् । त्यस्तै हङकङमा पनि आप्रवासीहरूलाई राम्रो व्यवहार गरिन्छ । त्यहाँको सरकारले निश्चित बजेट नै आप्रवासीको सुरक्षाका लागि खर्च गरेको हुन्छ । त्यसैगरी साउदी अरब र अन्य खाडीका देशहरूमा कफला प्रणाली रहेको छ । जसले गर्दा २१औं शताब्दिमा पनि बँधुवा मजदुरजस्तो भएर आप्रवासीहरूले काम गर्नुपरिरहेको छ । जहाँ जानेबित्तिकै राहदानी र नागरिकताजस्ता आवश्यक कागजात खोसेर कामदारलाई निरुत्साहित गर्ने पनि पाइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.