फ्री भिषा, फ्री टिकटमै नेपाली कामदार लैजान मलेसिया बाध्य, विदेशिने युवाको सङ्ख्या भने घट्दो क्रममा

0 0

काठमाडौं । नेपाल सरकारले गरेको फ्री भिषा, फ्री टिकटको निर्णयबमोजिम नेपाली कामदमार आयात गर्न नसकिने बताउँदै आएको मलेसियाले अन्ततः भिषा र टिकट दिएरै भएपनि नेपाली कामदार लैजान बाध्य भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गत असार २१ गतेदेखि लागू हुनेगरी फ्री भिषा र फ्री टिकटको निर्णय गरेपछि मलेसियामा जाने नेपालीको संख्यामा ह्वात्तै कमी आएको थियो । यसरी कामदार विदेसिने क्रममा कमी आउँदा मलेसियास्थित रोजगारदाता कम्पनीहरूमा कामदारको अभाव हुँदै गएपछि फ्री टिकट र भिषा दिएरै भएपनि कामदार लैजाने निर्णयमा त्यहाँका रोजगारदाता कम्पनीहरू पुगेका छन् ।
मलेसियास्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार पछिल्लो समयमा नेपाल सरकारको निर्णयबमोजिम फ्री भिषा र फ्री टिकटमा कामदार लैजानका लागि करिब १ सय ८४ भन्दा बढी कम्पनीहरूले कामदारको मागपत्र प्रमाणीकरणका लागि कागजातसहित निवेदन दिएका छन् । ती कम्पनीहरूले पेश गरेको निवेदनबाट पाँच हजार तीन सय ५३ जना नेपाली कामदारको माग हुने पनि दूतावासले जानकारी दिएको छ ।
दूतावासले हालै जारी गरेको विज्ञप्तिअनुसार रोजगारदाता कम्पनी, यसले पेश गरेको कागजात र मागपत्रमाथि छानबिन कार्य भैरहेको छ । छानबिनपछि नेपाली कामदार पठाउन योग्य भेटिएका कम्पनीहरूको मागपत्रलाई मात्र स्वीकृति दिने पनि दूतावासले जनाएको छ । श्रम तथा रोजगार मन्त्रालयले गरेको निर्णयपछि उक्त निर्णयलाई मान्ने भनेर आएका पहिलो लटको कम्पनी नै यी १ सय ८४ भएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारको निर्णयअनुसारको प्रक्रियामा आउने कम्पनीहरूको संख्या अब क्रमिक रूपमा बढ्ने दूतावासको दाबी छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको विशेष पहलमा सरकारले गत जेठ २६ गते निर्णय गरेर असार २१ गतेदेखि लागू गरेको थियो । उक्त निर्णयअनुसार मलेसिया र खाडी मुलुकहरू बहराईन, कतार, साउदी अरेविया, ओमान, दुवइ (संयुक्त अरव इमिरेट्स, यूएई) र कुवेतमा कामदार पठाउँदा रोजगारदाता कम्पनीले भिषा र टिकट निःशुल्क दिएको हुनुपर्ने व्यवस्था गरिएको छ । मलेसियाबाहेक खाडीका अन्य मुलुकहरूबाट यसअघि पनि फ्री भिषा र फ्री टिकट आउने गरेको थियो । त्यसले गर्दा पनि सरकारको निर्णयलले ती देशहरूमा खासै असर नपरेपनि मलेसियामा भने प्रत्यक्ष असर परिरहेको छ ।
यता वैदेशिक रोजगार व्यवासायीहरू भने सरकारले लिएको उक्त निर्णयको विरोध आजसम्म पनि गरिरहेका छन् । उनीहरूले फ्री भिषा, फ्री टिकटको निर्णय आफैंमा राम्रो भएपनि तत्कालका लागि उपयुक्त नभएको ठहर गरेका छन् । हाल उनीहरूले मलेसियामा पुरानो मागपत्रमाबाहेकमा कामदार पठाएका छैनन् । तर, नेपाल सरकारको अपेक्षाअनुसारको डिमाण्ड भने आउने प्रक्रिया अगाडि बढेको छ । फ्री भिषा फ्री टिकटको निर्णयको व्यवसायीले विरोध गरिरहँदा सरकारले भने मलेसियाको राम्रो कम्पनीमा मात्र कामदार पठाउने र राम्रा कम्पनीले फ्री भिषा र फ्री टिकट दिने विश्वास सरकारले राख्दै आएको थियो ।
रोजगारीमा जानेको सङख्यामा कमी
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि सरकारले लागू गरेको फ्री भिषा र फ्री टिकटको निर्णयले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । भूकम्पका कारण विदेश जान नसकेका युवाहरूलाई त्यसपछि सरकारले गरेको निर्णय र निर्णयको विरोधमा व्यवसायीहरूले गरेको दुई साता लामो आन्दोलनका कारण गत आर्थिक वर्षमा विदेसिनेको संख्या तुलनात्मक रूपमा कमी आएको हो ।
आर्थिक वर्ष २०७१÷०७२ मा वैदेशिक रोजगार विभागले ५ लाख १३ हजार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २.८ प्रतिशतले कम हो । वैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्य मुलुकहरूमा मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत तथा दक्षिण कोरिया रहेका छन् । जसमध्ये सबैभन्दा बढी कुवेत जाने कामदारको संख्या ५१.३ प्रतिशतले घटेको छ ।
नेपाली कामदारको सबैभन्दा बढी चाप रहने मलेसियामा पनि गत आर्थिक वर्षको तुलनामा ५.३ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा मलेसियाको अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख दुई हजार आठ सय २८ रहेको छ । त्यसैगरी सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुकमा कतार दोस्रो स्थानमा रहेको छ भने साउदी अरब तेस्रो स्थानमा रहेको छ । गत वर्ष अधिकांश मुलुकमा जाने कामदार घटेपनि साउदी अरब जाने कामदार भने १३.४ प्रतिशतले बढेका छन् ।
त्यसैगरी कतारका लागि अन्तिम श्रम स्वीकृति लिनेमा १ लाख २४ हजार ३ सय ६८ र अरबमा ९८ हजार २ सय ४६ जना रहेका थिए । नेपालीको आकर्षक गन्तव्य मुलुकको रूपमा उदाएको दक्षिण कोरियामा १८ हजार नौ सय २० जना युवा विदेसिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.