बेचिएका र बन्धकमा परेका बालबालिकाको अवस्था

1 0

राकेश प्रसाद चौधरी

कोभिड–१९ सँग जोगिन शुरू गरिएको लकडाउनले करकाप, लोभलालच, पैसाकै लागि भारतीय बजारमा निकृष्ट श्रममा गएका एवं पठाइएका बालकहरू स्वदेश फर्किन थालेका छन् ।
सडक संजाल र सीमानाका बन्द नहुँन्जेलसम्म प्रदेश २ को विभिन्न जिल्लाबाट भारतीय बजारमा निकृष्ट श्रम गराउने गिरोह सक्रिय थिए । अहिले कोभिड१९ बाट जोगिन बन्धकमा रहेका, बेचिएका र ठगिएका बालकहरू पनि घर फिर्ती हुन थालेका छन् ।
निकृष्ट श्रममा लगाउनेहरूको कारोबार ठप्प भएको र भाइरसले ज्यान समेत लिन थालेपछि दिल्ली, मुम्बई, चेन्नईसहितका शहरमा रहेका बालकहरू पैदल नै स्वदेश फिर्ती गर्दा कसैले रोकेनन् ।
विद्यालयमा अध्ययनरत रहेकै बेला तस्कर गिरोहको नजरमा परेका यी बालकहरू भारतीय बजारमा पु¥याउन उनका अभिभावकलाई शुरूमै १० हजार भारतीय रूपैयासम्म दिने गरेका थिए । लकडाउनको बेला १२ बर्ष जलेश्वरकै गोपाल पासवानको छोरा मुम्बईबाट घर फर्के ।
विद्यालयमा पढाई गरिरहेका ती बालकलाई उनका अभिभावकले प्रलोभनमा परेर मुम्बई पठाएका थिए । मुम्बईमा ती बालक बन्धकमा परेर निकृष्ट श्रम गर्दै जवान भइसके । लकडाउन नभएको भए आफ्नो अभिभावक हेर्ने सपना अधुरै रह्ने ती युवाले बताए ।
अहिले प्रदेश २ को हरेक गाउँको दलित बस्तीहरूमा यस्तै कथाहरू छन् । विपन्नता हटाउन छोरालाई पैसा कमाउन जानी जानी ती तस्कर गिरोहको जिम्मा लगाएका अभिभावकहरूको चेत बल्ल खुलेको अधिकारकर्मी प्रमोद सदाले बताए ।
पैसा कमाउन शुरूमै पाँच दश हजार भारतीय रूपैया लिएर तस्करको जिम्मा लगाएका अभिभावकमध्ये केहीले दुई तीन बर्षपछि प्रहरी चौकीहरूमा दिल्ली, मुम्बईलगायतका शहरमा आफ्नो छोरा बन्धक रहेको तथा बेचिएका गुनाँसाहरू गर्ने गरेका थिए ।
प्रदेश नम्बर २ का विभिन्न जिल्लाका बालकहरूलाई भारतबाट उद्धार गर्ने क्रम लकडाउन अगाडिसम्म विभिन्न संस्थाहरूले जारी नै राखेका थिए । अधिकारकर्मी गुन्जा रायले भारतमा तस्करी भएका बालकहरूको तथ्यांक र कतिजना उद्धार भए भन्ने तथ्यांक पाउन नै ग्राहो रहेको बताए ।
लकडाउनको बेला भारतीय निकृष्ट श्रमबजार कोभिड१९बाट जोगिन स्वेदश फर्केकाहरूको यकिन तथ्यांक कुनै निकायसँग छैन । जसरी ती बालकहरू तस्करी भएर भारतीय बजारमा पुगेका थिए, त्यसरी नै ती बालकहरू रातको अध्याँरोमा सीमानाकाबाट लुकेर घर फर्केका मानवअधिकारकर्मी मदन झाले बताए ।
उनले प्रदेश २ मा भारतबाट कति संख्यामा मानिस नेपाल आए भन्ने तथ्यांक नै नरहेको समयमा बालश्रमिकहरू कति स्वेदश फर्के भन्ने खोज्नु बहुत कठिन कार्य रहेको बताए ।
अभिभावकबाट ठगेर तस्करी गरि प्रदेश नम्बर २ बाट बर्षभरिमा ८ देखि १६ बर्ष समूहका बालकहरूको तथ्यांकको खोजी गर्ने कार्य अझैसम्म हुन सकेको छैन । यस प्रदेशका बालकहरूमा समेत विद्यालय र कक्षा छोड्ने प्रबृति रहेपनि यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।
सिरहाका पत्रकार रामभरोसी महतोले दलित समूदायबाट धेरै बालकहरू विद्यालय छोडेर भारतको निकृष्ट श्रमबजारमा जाने गरेकोमा चित्त दुखाउँछन् । उनले यस समस्याको समाधानमा राज्यपक्ष संवेदनशिल नरहेको टिप्पणी गर्छन् ।
मानवअधिकार आयोगकी सदस्य मोहन अंसारीले बालकहरूको उद्धार तथा बालपन रक्षाको विषय लागि लामो समयदेखि उठान गर्दै आएकी छिन् तर समस्या समाधान तर्फ कुनै निकायको अग्रसरता देखिएको छैन ।
यसैबर्षको फरबरी अन्तिम साता मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलका प्रवक्ता एवं प्रहरी उपरीक्षक गोविन्द थपालिया तथा अन्य अधिकृतहरू कुरा गर्दा समेत बालकको विषयभन्दा भारतमा भइरहेको महिला बेचबिखनको विषयले महत्व पाउने गरेको बताएका थिए ।
बालकहरूको हकमा अभिभावकले पैसाको लोभमा तस्करको जिम्म लगाउने र केही समस्या परे प्रहरीमा बालको उद्धार गरिदिन निवेदन दिने गरेका छन् । बालक जिम्मा लगाउनेबिरूद्ध मानव बेचबिखनको निवेदन तथा जाहेरी अभिभावक पक्षहरू नआउने गरेका विषयले महत्व नपाएको उनीहरूको ठहर थियो ।
मानव बेचबिखन मुद्धामा अनुसन्धान अधिकृतले निरन्तर सुनुवाइको माग गर्न सकिने प्रावधान रहेपनि पीडकहरू पक्राउ नपरेसम्म न्यायिक सुनुवाइमा समेत समस्या आउने विभिन्न अध्ययनले देखाउँछ । मानव बेचबिखनकै विषयमा मानवअधिकार आयोगले समेत प्रतिवेदन निकाल्दै आएको छ ।
सन् २०१९ को अन्तिम तिर झापाको काकडभिठ्ठा र पर्साको बीरगंज नाकामा सोधपुछमा कडाई हुन थाल्दा प्रदेश २ का बालकहरूलाई तस्करहरूले सिरहा तथा महोत्तरीको नाकाबाट भारत विहारको जयनगर पु¥याउने र त्यहाँबाट दिल्ली, मुम्बइ र चेन्नइ पु¥याउने गरेको स्थलगत अध्ययनले देखाएको थियो ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सन् २०१८ मा नेपाल भारत सिमानाबाट हुने मानव तस्करी विषयमा गरेको अध्ययनअनुसार दलालले भारतीय सहरमा पु¥याउँदा बालबालिकाका लागि ६ हजार तथा महिलाका लागि ५० हजार भारतीय रूपैयाँ कमिसन पाउँछन् ।
दलालहरूलाई खासगरी दलित समुदायका बालबालिकालाई तारो बनाउन सहज भइरहेको देखिन्छ । किनभने दलित समुदायका बालबालिकाको विद्यालयमा पहुँच न्यून छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरका अनुसार देशभरमा दलित समुदायका २८ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । चिडिमार, मुसहर र डोम समुदायका त एक प्रतिशतभन्दा कम बालबालिका मात्र विद्यालय जान्छन् ।
भारतीय सीमा तथा सहरबाट उद्धार गरिएकामा ५० प्रतिशत १६ वर्षमुनिका हुन्छन् । गत वर्ष एसएसबीले गरेको अध्ययनअनुसार नेपालबाट सिमानाका भएर भारततर्फ मानव तस्करी हुने घटना ५ वर्षमा पाँच गुना बढेको छ ।
एसएसबीले सिमानाकाबाट उद्धार गरिएको आधारमा यो निष्कर्ष निकालेको हो । सन् २०१७ मा ६ सय ७ जनाको उद्धार गरेर बेचबिखनमा संलग्न १ सय ५४ जनामाथि मुद्दा चलाइयो । सन् २०१३ मा १ सय ८ जनाको उद्धार गरिएको थियो र १९ जनाविरूद्ध मुद्दा चलाइएको थियो ।
भारतको सशस्त्र सीमा बल (एसएसबी) ले आफ्नो वेबसाइटमा राखेको मानव तस्करी नियन्त्रणका लागि राखिएको दृष्टि पुस्तिकामा नेपालबाट बर्सेनि १० देखि १५ हजार महिला तथा बालिका भारतमा बिक्री हुने गरेको तथ्यांक राखिएको छ । जसमध्ये केही महिला तथा बालिकाहरू मध्यपूर्व तथा एसिया प्रशान्त क्षेत्रमा तस्करी हुने गरेको उल्लेख छ । यस पुस्तिकामा बालक तस्करीबारे खासै तथ्यांक उल्लेख छैन ।
मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६ अनुसार नेपालबाट ठूलो संख्यामा महिला तथा बालबालिका भारतमा बेचिन्छन् । यसमध्ये करिब २६ प्रतिशत प्रभावितहरू (१८ वर्षभन्दा कम उमेरका बालबालिका) यौनशोषणको सिकार हुने गरेका छन् ।
मानवअधिकारकर्मी मदन झाले लकडाउनको मौकामा घर फिर्ती भएका बालकहरूको तथ्यांक संकलन गर्ने उचित समय रहेको बताए । बैध माध्यमबाट आएकाहरूसँग उनीहरू कसरी र के कामका लागि भारत पुगे भनेर जानकारी राख्दा उचित हुन्छ ।
उनले अवैध माध्यमबाट घरसम्म पुगेकाहरूसँग समेत यस्तो सूचना दिने फर्म फराउँदा उचित हुने उनले बताए । हुनतः यो काम वडा कार्यालयले गराउँदा अत्यन्त प्रभावकारी हुने विचार अधिवक्ता विकरू यादवको छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.