काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले व्यवसायीकै कारण व्यावसाय धरापमा परेको बताएका छन् । व्यवसायीमाथि प्रहरी धरपकड हुन थालेपछि व्यवसायी र व्यावसायको बचाउ गर्न आन्दोलित व्यवसायीले नै सङ्घको उर्दी उल्लंघन गरेको भन्दै अध्यक्ष ढकालले सो कुरा भएका हुन् ।
‘सङ्घले सरकारसँग औपचारिक रूपमा वार्ता सुरु गरेपछि रोकिएको अन्तिम स्वीकृति मात्रै खुला गर्ने भनिएको थियो, तर उहाँहरूले सङ्घको उर्दीलाई वेवास्ता गर्दै सबै काम थाल्नु भएको छ, यसको असर कालान्तरमा आफैलाई पर्छ,’ ढकालले भने– ‘सङ्घले व्यावसाय जोगाउन सरकारसँग लविङ गरिरहेको अवस्थामा व्यवसायीले साथ दिएनन् ।’
पुराना कुरा कोट्याएर सङ्घ नेतृत्वलाई विभिन्न आरोप लगाउने व्यवसायीले सङ्घले लिएको नीतिलाई सहयोग गरेको भए यसअघि समाधान निस्किने दाबी पनि गरे । ‘एकजनाले बिराउँदा शाखा पिराउँछ भनेजस्तै भएको छ, वैदेशिक रोजगार,’ ढकालले भने– ‘व्यावसायमा देखिएको समस्या समाधानकै लागि हामी अहोरात्र खटिएका छौँ, त्यो कुरा व्यवसायी साथीहरूले देखिरहनु भएको छैन । केवल उहाँहरू आरोप लगाएर बस्नु भएको छ । दुई दिन पूर्वस्वीकृति ढिला गरेको भए के हुन्थ्यो ?’
व्यवसायीले सङ्घ नेतृत्वलाई सहयोग नगरेकै कारण पटक–पटकको आन्दोलन त्यत्तिकै खेर गएको तकए ढकालको छ । अहिले पनि व्यवसायीले साथ दिने हो भने हामी तार्किक निष्कर्षमा पुग्नेछौँ । ‘त्यसका लागि व्यवसायीको अभूतपूर्व साथको आवश्यकता छ,’ अध्यक्ष ढकालले भने ।
Headline