कोरोनासँग लड्न उच्चस्तरीय सर्वपक्षीय समिति आवश्यक

0 0

राजेन्द्र प्रसाद श्रेष्ठ

विश्वको २२० भन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिसकेको अवस्था छ । नेपालमा तुलनात्मकरूपमा अहिलेसम्म समुदाय तहमा गइसकेको स्थिति छैन । त्यस हिसावले नेपालका लागि सकारात्मक कुरा नै हो । तर, अहिलेसम्म नेपालमा त्यो प्रकारले नफैलिनु भगवान भरोसा नै भन्नुपर्छ । किनभने नेपालमा जुन ढंगले रोकथामका, नियन्त्रण र प्रतिरोधका कामहरू हुनुपर्दथ्यो, त्यो ढंगले भएको देखिएको छैन । अहिले सरकार एक्लै हिंडिरहेको अवस्था छ । हामीले बारम्बार स्पष्टका साथ भन्दै आएका छौं कि कोरोना एउटा सामान्य अन्य रोग जस्तो होइन । कोभिड–१९ एक्काइसौं शताब्दीमा नै मानव समुदायमा सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न गरेको हो । नेपालमा पनि संक्रमितहरू फेला परिरहेको परिस्थितिमा यसले हाम्रो राष्ट्रिय जीवनमा उत्पन्न गर्न सक्ने मानवीय, सामाजिक र आर्थिक संकटहरू छन् । यसका लागि हामीसँग आर्थिक स्रोतसाधनहरूको अभाव नै छ । यस्तो स्थितिमा सबै क्षेत्रबाट सहयोग जुटाउने गरी सबभन्दा पहिला राजनीतिक क्षेत्रबाट नै एकाकार भएर जानुपर्छ । त्यसकारणले यो विषम् परिस्थितिमा कोरोनो नियन्त्रण र प्रतिरोधका लागि समग्र रणनीतिक योजनाहरूको निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन कार्यमा सहकार्यका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरू, जनस्वास्थ्य विज्ञहरू, सञ्चारकर्मीहरू, मानवअधिकारवादीहरू सबै संलग्न भएको एउटा सर्वपक्षीय उच्चस्तरीय समिति बनाऔं । त्यसले योजना बनाउने, कार्यान्वयन गर्ने र व्यवस्थापन गर्ने गर्छ । यसले सिंगो देश एकढिक्का छ भन्ने सन्देश दिन्छ भन्ने कुराहरू प्रधानमन्त्रीलाई सुझाव दिएका थियौं । तर आजसम्म पनि उहाँहरूले सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न पहल गरेको देखिँदैन ।

अर्कोतर्फ जो स्वास्थ्यकर्मीहरू, कर्मचारी, सरसफाइ मजदूर, सुरक्षाकर्मीहरू खटेका छन् तिनीहरूका लागि पनि उपयुक्त ढंगले व्यवस्थापन गर्ने काममा सरकार चुकेको स्थिति छ । कोरोना उपचारका लागि सबैभन्दा अग्रिम मोर्चामा चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिकहरू, सरफाइ कर्मचारी, औषधि विक्रेताहरू, एम्बुलेन्स चालकहरू हुन्छन् । ती सबैका लागि एउटा फन्ड क्रिएट गरेर कम्तीमा ५० लाख बराबरको स्वास्थ्य बीमा घोषणा गरौं र उहाँहरूको प्रोत्साहन पनि हुन्छ भनेका थियौं ।

देश विकास भनेको समष्टिमा मानव विकास हो । शिक्षा, स्वास्थ्य, यातायात, सहरी विकास, खानेपानी, विद्युतीकरण, उद्योग, कलकारखाना लगायतका भौतिक पूर्वाधारहरूको विकास मानव समुदायकै सुख र समृद्धिका लागि हो । त्यसैले देश विकास भनेको समस्टीमा मानव विकास नै हो । देश विकासका लागि राज्यले संघ र प्रदेश दुबैमा निर्वाचन क्षेत्र विकास कोषको रूपमा जनताको करबाट बजेट विनियोजन गर्ने गरेको छ । यसले सुरूवाती कालमा राम्रो परिणाम नदिएको होइन । तर विस्तारै विस्तारै यो भ्रष्टाचार र कार्यकर्ता पोस्ने साधन बन्न गयो । आर्थिक वर्ष २०७६र७७ मा सङ्घमा ९ अरब ९० करोड र ७ वटा प्रदेशमा ६ अरव ६० करोड गरी १६ अरव ५० करोड विनियोजन भयो, जुन छरितो कामका नाममा अत्यधिक रूपमा पार्टी कार्यकर्ताहरूको उपभोक्ता समिति वा ठेकदार कार्यकर्ताको हातमा गयो । यसलाई ‘सांसद विकास कोष’ भन्दै निजी सम्पति जस्तो ठान्न थाल्यो ।

निर्वाचन क्षेत्र विकास कोष राज्यकोषबाट छुट्याएको विकास कोष हो, कसैको निजी कोष होइन । तर यसलाई सांसद विकास कोष भनेर निजी सम्पति बाँडेको जस्तो प्रचार गर्न थाले । त्यसैले यसरी बजेट विनियोजन हुनु अनुपयुक्त मात्र होइन अनुचित पनि छ । अहिले सम्मको अनुभवको आधारमा यसरी छुट्याएको रकमको दुरूपयोग बढी भएकाले यसलाई रोक्नु पर्दछ । आजभोली नागरिक समाज र प्रेस जगतमा त निर्वाचन क्षेत्र विकास कोष होइन ‘सांसद विकास कोष’ भनेर यसको बदनाम हुन थालेको छ । यसका विरूद्ध अख्तियार र सर्वोच्च अदालतमा पनि मुद्दा गयो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तहरू, न्यायधिशहरू तथा नागरिक समाजका अगुवाहरूले पनि यसलाई खारेज गर्नुपर्ने सुझाव दिए । अहिले पनि यसको विरूद्ध सर्वोच्चमा मुद्दा छ ।

यतिबेला कोविड–१९ नामले कोरोना भाइरसको प्रकोपबाट विश्व नै आक्रान्त छ । कोविड–१९ ले उत्पन्न गरेको संकट एक्काशौं शताव्दीमा मानव समुदायमा देखापरेको अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय सङ्कट हो । यो नेपालमा पनि प्रवेश गरिसकेको छ । यसले हाम्रो राष्ट्रिय जीवनमा उत्पन्न गर्न सक्ने मानवीय तथा आर्थिक सङ्कटका सम्बन्धमा सबैले एकजुट भएर लड्नु पर्दछ । यसका लागि हामीसँग आर्थिक तथा भौतिक स्रोत साधनहरूको अभाव छ नै । त्यसैले यतिबेला संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू मिलेर राज्यको सञ्चित कोषबाट बजेटको व्यवस्था गर्ने तथा ‘सांसद विकास कोष’को नाममा बदनाम निर्वाचन क्षेत्र विकास कोष खारेज गरी त्यसलाई कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राख्नु पर्दछ ।

कोविड–१९ विरूद्धको मानव समुदायको यो लडाँइमा विश्वका सबै देश र नागरिक आ–आफ्नो तरिकाले संलग्न छन् । यस्तो बेलामा धैर्यता, साहस, संकल्प, सहकार्य र उच्च मनोवलको आवश्यकता हुन्छ । तर उच्च मनोबलले मात्र यो समस्या समाधान हुँदैन । यस्तो नरसंहारकारी भाइरस कौशीमा सूर्यदर्शन गरेर, दियो बालेर, ताली बजाएर र देवी देवता भाकेर समाधान हुँदैन । आधुनिक चिकित्सा पद्दति विकासका लागि नेपालले पनि विश्व स्तरमा सहकार्य गर्नु पर्दछ ।
लेखक समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.