रोल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलवार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पत्र पठाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई आग्रह गर्दै उक्त पत्र पठाएको बताइएको हो ।
कांग्रेसले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत सबैको सहयोग लिएर कोरोना नियन्त्रणमा अघि बढ्न समेत आग्रह गरेको छ । यस्तै कांग्रेसले कोरोना परीक्षणका लागि पर्याप्त स्वास्थ्य सामग्री आपूर्ति नगर्नु, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको नियत देखिनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टिनमा रहेकाको पीसीआर परीक्षण नहुनुलगायत कारण नेपालमा कोरोना संक्रमण बढिरहेका ठहर गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरूको गुणस्तर र संख्या वृद्धि गर्नुपर्ने, विदेशबाट आउने नेपालीलाई सुरक्षित रूपमा क्वारेन्टिनमा राखेर स्वास्थ्य उपचार गर्नुपर्ने माग राखेको छ ।
यस्तै कोरोना नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्कमर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी लगायतको व्यक्तिगत सुरक्षासँगै, बीमा गर्नुपर्ने, भारतबाट आएकाहरूको पीसीआर अनिवार्य गर्नुपर्ने, स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता गर्नेलाई कारवार्ही गर्नुपर्ने समेत काँग्रेसको माग छ ।