प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम र दामको अवसर

0 0

पर्वत । फलेवास नगरपालिका–३ पुर्कोटका पूर्णबहादुर परियार लामो समयदेखिको लकडाउनले समस्यामा थिए । दैनिक काम गरेर बिहानबेलुकाको छाक टार्दै आएका उनी लकडाउन भएदेखि घरमै थन्किनुपरेको थियो ।
तर, पछिल्लो १ सातादेखि उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीमा जोडिने मौका पाएका छन् । ‘दिनभरी घरमै बस्नुपर्दा परिवारको हातमुख जोर्ने उपाय नपाएर रन्थनिएको थिएँ’, परियारले भने, ‘केही दिनलाई भए पनि काम पाउँदा खुशी लागेको छ ।’ चाविल–पुर्कोट सडक मर्मतको काममा उनी सामेल भएका छन् । दैनिक रू. १ हजार २५ पाउनेगरी उनले २५ दिन रोजगारीको अवसर पाएको बताए ।
परियार जस्तै सोही नगरपालिका–८ ठानामौलाका नारायण पौडेल पनि बेरोजगार नै थिए । उनलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट राहत महसुस भएको छ । पौडेल नेपाने–कमारे पदमार्ग निर्माणमा खटिएका छन् । फलेवास नगरपालिकाले शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँका बेरोजगार युवाले आंशिक रोजगारी पाएका छन् ।
रोजगारी पाएकाहरूलाई लकडाउनले पारेको आर्थिक समस्या पनि केही हदसम्म समाधान हुने भएको छ । नगरपालिकाले पदमार्ग निर्माण, पोखरी निर्माण, सडक स्तरोन्नति तथा मर्मतसम्भार जस्ता कार्यक्रममा गाउँका बेरोजगारलाई रोजगारी दिएको हो । ११ ओटा वडा रहेको नगरपालिकाले प्रत्येक वडाका कम्तीमा ५ जना समेटिने गरी उक्त कार्यक्रममा १९५ जनालाई समावेश गरेको रोजगार संयोजक शिवबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार तीमध्ये ३५ जना महिला र १६० जना पुरुष छन् । दक्ष कामदारले रू. १ हजार २५ र अदक्ष कामदारले रू. ७५० पारिश्रमिक पाउने क्षेत्रीको भनाइ छ । ‘आंशिक रोजगारीसँगै अधुरा विकासका कामले पनि गति लिएको छ’, उनले भने, ‘गत वर्ष धेरै गुनासा नआएका होइनन् । तर, यस वर्ष गुनासो नआउने गरी काम अगाडि बढेका छन् ।’
उनका अनुसार फलेवास नगरपालिकाका वडाहरू ३, ५ र ६ मा सडक मर्मत सम्भारको योजना छ भने २, ७ र ८ मा पदमार्ग निर्माणको योजना छ । त्यस्तै वडा नम्बर १ र ४ मा भने कार्यक्रम शुरू हुने चरणमा छ ।
वडा नं. ६ मा हिमलाल मार्ग सडक मर्मत तथा सोलिङ गर्ने कार्यको शुरुआत भएको छ भने शंकरपोखरीमा चाविल–पुर्कोट सडकको मर्मत कार्य सकिएको छ । लिमिठानामा राम्चे पदमार्ग, ठानामौलामा नेपाने–कमारे पदमार्ग, पाङराङमा कालिका मन्दिर निर्माणको काम भइरहेको छ ।
कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रू. ४५ लाख ६१ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रम यही असार मसान्तसम्म सञ्चालन हुने फलेवास नगरपालिकाले बताएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.