चन्द्रगिरि : केबलकार पर्यटन

0 0

फुर्पा तामाङ

चन्द्रगिरि डाँडो । समुद्री सतहबाट २ हजार ५ सय ५१ मिटरको उचाइमा रहेको यो हरियाली डाँडो लोभलाग्दो छ । स्वच्छ, सुन्दर र रमणीय त्यो डाँडो पुग्दा नरम्ने को होला ? लाग्छ स्वर्गको एक टुक्रा हो त्यो । त्यस्तै लाग्यो । काठमाडौं उपत्यकाको धुलो, धुवाँ र अत्यासलाग्दो प्रदूषित वातावरणबाट केही समय टाढिन चाहनेका लागि धेरै उत्तम गन्तव्य रहेछ । हिँड्नुपर्दैन । बाल–वृद्धा सबैका लागि जान सहज छ । चन्द्रगिरिको फेदसम्म गाडी जान्छ । त्यो फेदीबाट दुईतर्फी भाडा रु. सात सय तिरेपछि केबलकार चढेर चन्द्रगिरि डाँडो एकैछिनमा सरर पुगिन्छ । विज्ञान र प्रविधिले अहिले धेरै सजिलो बनाइदिएको छ । बिहान गयो दिनभरि टहलेर बेलुका फर्किन सकिन्छ । गत साता हाम्रो परिवारले केबलकारको मज्जा लियो ।

केबलकार चढेर आकाशबाट हेर्दा काठमाडौं उपत्यकाको सबै भूभाग देखिन्छ । आँखालाई टाढासम्म पु¥याउँदा गणेश हिमाल, तिब्बती रेन्ज, लाङटाङ हिमालको दृश्यहरू देखापर्दै जान्छन् । नागार्जुन, शिवपुरी, जरसिंपौवा, नगरकोट, गोदावारी–फूलचोकी, हात्तीवनसम्मको सदावहार हरियो वनजङ्गलले गर्दा चन्द्रगिरिको डाँडोलाई थप सौन्दर्य र आकर्षक बनाइदिन्छ । यति राम्रो दृश्यहरू देख्दै आनन्दित भएको मनलाई उपत्यकाको मलिलो उर्वराभूमिमा क्रङ्क्रिटका अग्ला भवनहरूले भरिँदै गएको देखेपछि भने मन खिन्न हुँदोरहेछ । दशकअघि काठमाडौं उपत्यकाको फाँटभरि मगमग बास्नायुक्त धान फल्थ्यो । किसानले सागसब्जी प्रशस्त फलाउँथे । अहिले हरियाली र खेतबारी मासिइसकेको छ । यसो गम्छु, काठमाडौंको प्राकृतिक सौन्दर्य त हामीले ध्वस्तै बनाएको रहेछ । नयाँपाटी घरबाट चन्द्रगिरिको फेदीसम्मको यात्रा यति सकस थियो कि, के भनुँ ? धुलो, धुवाँ र गाडी जामले धुरुक्कै रुवायो । काठमाडौंको प्राकृतिक सौन्दर्य हामीले निमोठ्यौँ । हामीले निस्सासिँदो सहर बनाउँदै लगिरहेछौँ । देश चलाउनेहरूको र मानिसको चेत कहिले खुल्ने होला ?

केबलकारबाट चन्द्रगिरि उकालो चढ्दै गर्दा झ्यालको प्वालबाट भित्र छिरेको चिसो हावाले मन ताजा र फुरुङ्ग बनाइदिन्छ । धन्य, चन्द्रगिरि डाँडो आजसम्म जीवित रहेछ । कुनै प्रदूषण छैन । उसको सौन्दर्य मरिसकेको छैन । पहिलोपटक चन्द्रगिरि जानेहरूका लागि यस्तो लाग्न सक्छ, ‘म आज साँच्चै भूस्वर्गको यात्रा गरिरहेछु ।’

चन्द्रगिरिमा बाल, वृद्धा, युवा र परिवार जोसुकै रम्न सक्छन् । बालबालिकाको लागि खेल्ने ठाउँहरू बनाइदिएका छन् । कोही घोडा चढेर रमाउन सक्छन् । भ्युटावरबाट दूरबिनले टाढासम्म हेर्न सक्छन् । युवायुवतीहरू रेस्टुरेन्टमा बसेर रमाइलो गर्न सक्छन् । खानेकुराको मूल्य खासै महँगो छैन । चन्द्रगिरि आसपासको रैथाने परिकारलाई बेच्न सके छुटै पहिचान बन्न सक्छ । त्योचाहिँ चन्द्रगिरिमा छैन । यहाँ स्थानीयपन झल्किने कोसेली घरको अभाव देखियो ।

किशोर–किशोरी एवम् प्रेमी–पे्रमिका जोडीहरूको लागि त साह्रै राम्रो ठाउँ लाग्यो । नीलो आकाशमुनिको उचाइको त्यो हरियो जङ्गलमा गएर जोडीहरू गफिन सक्छन् । घरि घाम लाग्ने र घरि बादलले छोपिने त्यो डाँडामा बसेर माया–पिरतीको कुरा गर्दाको आनन्द कसरी व्यक्त गर्न सकिएला ? भविष्यमा यो डाँडालाई प्रेम डाँडा नामाकरण नहोला भन्न सकिन्न ।

वृद्धवृद्धाहरू भालेश्वर महादेवको मन्दिरमा भजन किर्तन र पूजा गरेर धार्मिक सिद्धि प्राप्त गर्न सक्छन् । हिन्दूहरूको मन्दिरको अलावा गुम्बा, चर्च र मस्जिद पनि भइदिए त्यो रमणीय स्थानमा घुम्न जाँदा आ–आफ्नो आस्थाअनुसार पूजा गर्न पाउने थिए ।

सबै कुरा राम्रा छन् । यद्यपि केही कुरामा सुधार हुन सके जाति हुनेथ्यो । वृद्धवृद्धाहरू, बेरोजगार युवायुवती र सीमान्तकृत वर्गका लागि केबलकारको भाडादर र रेस्टुरेन्टको खानाको मूल्यमा विशेष छुटको व्यवस्था भइदिए त्यो रमणीय डाँडो हुनेखाने वर्गका लागि मात्र नभएर हुँदा खाने वर्गका लागि पनि हुनेथ्यो । केबलकारको दुईतर्फी भाडा रु. सात सय अलि महँगो भयो कि ? शौचालयहरूको सफाइमा अझै चुस्त बनाउनु जरुरी देखिन्छ ।

करिब पन्ध्र मिनेटको यात्रामा उपत्यकाको गर्मीबाट चन्द्रगिरि डाँडाको लेकाली चिसोमा पुग्दा अनौठो लाग्छ । एकछिन अघि पसिनाले भिजेको जिउ त्यो डाँडोमा पुग्दा शीतल हुन्छ । आच्छु भन्न बाध्य हुन्छ । यो नै नेपाली भूबनोटको विशेषता हो । जैविक विविधता, जलवायु, मौसम तथा हावापानीको दृष्टिकोणले कति अनुपम छ हाम्रो देश । यो विशेषतालाई हामीले पर्यटन विकाससँग जोडेर उपयोग गर्न सक्नुपर्छ । हामीसँग जे छ त्यसको उचित व्यवस्थापन र उपयोग गरेर आर्थिक विकास गर्न सक्नु नै आत्मनिर्भरतातर्फ लाग्नु हो ।

विदेशी दातृ संस्थाको अनुदानमा सञ्चालित विकास कार्यक्रमले नेपालको विकास नहुने रहेछ भन्ने त चरितार्थ भइनै सकेको छ । विकास हुने भए सन् ६० को दशकदेखि विदेशी सहयोग ओइरिएको होइन त ? अब आन्तरिक र बाह्य पर्यटनलाई देश विकाससँग जोड्नु नितान्त आवश्यक छ । चन्द्रगिरिको जस्तो भौतिक पूर्वाधार देशका अन्य ठाउँहरूमा पनि विस्तार गर्नुपर्छ । रसुवाको गोसाइँकुण्डमा केबलकार छिटो बनाउन सके कति राम्रो हुनेथ्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.